بَيَانُ كُفْرِ وَضَلَالِ مَنْ زَعَمَ أَنَّهُ يَجُوزُ لِأَحَدٍ الخُرُوجُ مِنْ شَرِيعَةِ مُحَمَّدٍ ﷺ
मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरिअतबाट जो कोही बाहिर निस्कन सक्छ भन्ने दाबी गर्ने व्यक्तिको कुफ्र र गुमराहीको स्पष्ट व्याख्या
لِسَمَاحَةِ الشَّيْخِ العَلَّامَةِ
عَبْدِ العَزِيزِ بْنِ عَبْدِ اللهِ بْنِ بَازٍ
رَحِمَهُ اللهُ
लेखः आदरणीय शैख
अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज (रहिमहुल्लाह)
بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ
बाह्रौं पत्र:
मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरिअतबाट जो कोही बाहिर निस्कन सक्छ भन्ने दाबी गर्ने व्यक्तिको कुफ्र र गुमराहीको स्पष्ट व्याख्या
समस्त प्रशंसा अल्लाहका लागि हो, जो सारा संसारका पालनकर्ता हुनुहुन्छ। दरूद एवं सलाम होस् सम्पूर्ण रसूलहरूको अन्तिम तथा समापनकर्ता नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि, उहाँका परिवार र उहाँका सबै साथीहरू माथि।
अम्मा बा'दु: मैले 'अश्-शर्क अल-औसत' पत्रिकाको अंक नं. (५८२४), हिजरी सम्वत ५/६/१४१५ मा प्रकाशित लेख हेरेँ, जसलाई आफूलाई “अब्दुल फत्ताह अल-हायक” नामक व्यक्तिले (गलत बुझाइ) शीर्षक अन्तर्गत लेखेका छन्।
लेखको सारांश: उक्त व्यक्तिले इस्लाम धर्मका अनिवार्य रूपमा ज्ञात विषयहरू, स्पष्ट ईश्वरीय प्रमाण (नस्स) र सर्वसम्मत निर्णय (इज्मा) द्वारा प्रमाणित तथ्य—मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देश सम्पूर्ण मानवजातिका लागि सार्वभौमिक हो—लाई अस्वीकार गरेको छ। साथै, उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण र आज्ञापालन नगरी यहूदी वा इसाई धर्ममै रहनेहरू पनि सत्य मार्गमै छन् भन्ने भ्रामक दाबी गरेको छ।
यसका साथै, उसले काफिर (अधर्मी) र अवज्ञाकारीहरूलाई परलोकमा दिइने सजायको सन्दर्भमा समस्त संसारका पालनकर्ता अल्लाहको हिकमत (ज्ञान र प्रज्ञा) र न्यायमाथि प्रश्न उठाउँदै त्यसलाई निरर्थक कार्यको संज्ञा दिएको छ।
उसले शरई (धार्मिक) प्रमाणहरूलाई विकृत गरेको छ, तिनलाई गलत सन्दर्भमा राखेको छ र आफ्नो इच्छा अनुसार व्याख्या गरेको छ। साथै, उसले शरई प्रमाणहरू र स्पष्ट ईश्वरीय प्रमाण (नस्स) लाई बेवास्ता गरेको छ, जसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देशको सार्वभौमिकता, उहाँबारे सुनेर पनि अनुसरण नगर्ने व्यक्तिको कुफ्र तथा अल्लाहले इस्लाम बाहेक अरू कुनै धर्म स्वीकार गर्नुहुन्न तथ्यलाई स्पष्ट पर्छ र यस्ता अन्य धेरै स्पष्ट प्रमाणहरूबाट पनि उसले मुख मोडेको छ, ताकि अज्ञानी मानिसहरू उसको कुराबाट भ्रमित होऊन। उसले गरेको कार्य स्पष्ट कुफ्र (अविश्वास), इस्लामबाट धर्मत्याग, र सर्वशक्तिमान अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अस्वीकार हो, जुन ज्ञान र आस्था भएका मानिसहरूले उक्त लेख पढेपछि स्पष्ट रूपमा बुझ्न सक्छन्।
शासक (वली अल-अम्र) को कर्तव्य: उसलाई अदालतमा पठाइयोस्, ताकि उसलाई तौबा गर्न लगाइयोस् र पवित्र शरीअतले जे आदेश दिन्छ, त्यसअनुसार उसको बारेमा निर्णय गरियोस्।
अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देशको सार्वभौमिकता र सम्पूर्ण जिन्न तथा मानवजातिमाथि उहाँको अनुसरण अनिवार्य भएको कुरा स्पष्ट रूपमा बयान गरिसक्नुभएको छ। यो यस्तो तथ्य हो, जसबाट सामान्य ज्ञान भएको कुनै पनि मुस्लिम अनभिज्ञ हुँदैन।
अल्लाहले भन्नुभएको छः
﴿قُلۡ يَٰٓأَيُّهَا ٱلنَّاسُ إِنِّي رَسُولُ ٱللَّهِ إِلَيۡكُمۡ جَمِيعًا ٱلَّذِي لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ لَآ إِلَٰهَ إِلَّا هُوَ يُحۡيِۦ وَيُمِيتُۖ فَـَٔامِنُواْ بِٱللَّهِ وَرَسُولِهِ ٱلنَّبِيِّ ٱلۡأُمِّيِّ ٱلَّذِي يُؤۡمِنُ بِٱللَّهِ وَكَلِمَٰتِهِۦ وَٱتَّبِعُوهُ لَعَلَّكُمۡ تَهۡتَدُونَ158﴾
भनिदेऊ: “हे मानवजाति! म तिमीहरू सबैका लागि अल्लाहको रसूल हुँ, जसको आकाशहरू र पृथ्वीमाथि राज्य छ। उहाँ बाहेक कुनै साँचो उपास्य छैन। उहाँ नै जीवन दिनुहुन्छ र मृत्यु दिनुहुन्छ। त्यसैले अल्लाह र उहाँका उम्मी नबीमा ईमान ल्याऊ—जो स्वयं अल्लाह र उहाँका वाणीहरूमा विश्वास गर्छन्—र उहाँको अनुसरण गर, ताकि तिमीहरू मार्गदर्शन प्राप्त गर्न सक।” [अल्-आअराफ: १५८] अल्लाहले भन्नुभएको छः
﴿...وَأُوحِيَ إِلَيَّ هَٰذَا ٱلۡقُرۡءَانُ لِأُنذِرَكُم بِهِۦ وَمَنۢ بَلَغَ...﴾
“…मलाई यो कुरआन वही (प्रकाशना) गरिएको छ ताकि म यसद्वारा तिमीहरूलाई र जससम्म यो पुग्छ उनीहरूलाई चेतावनी दिन सकूँ…।” [अल् अनआमः १९] अल्लाहले भन्नुभएको छः
﴿قُلۡ إِن كُنتُمۡ تُحِبُّونَ ٱللَّهَ فَٱتَّبِعُونِي يُحۡبِبۡكُمُ ٱللَّهُ وَيَغۡفِرۡ لَكُمۡ ذُنُوبَكُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ31﴾
“भनिदेऊ: यदि तिमीहरू अल्लाहलाई प्रेम गर्छौ भने मेरो अनुसरण गर, तब अल्लाहले तिमीहरूलाई प्रेम गर्नुहुनेछ र तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ। अल्लाह अत्यन्त क्षमाशील र दयावान् हुनुहुन्छ।” [आले-इमरान : ३१] अल्लाहले भन्नुभएको छः
﴿وَمَن يَبۡتَغِ غَيۡرَ ٱلۡإِسۡلَٰمِ دِينٗا فَلَن يُقۡبَلَ مِنۡهُ وَهُوَ فِي ٱلۡأٓخِرَةِ مِنَ ٱلۡخَٰسِرِينَ85﴾
“जसले इस्लाम बाहेक अन्य कुनै धर्म अपनाउँछ, उसको त्यो धर्म स्वीकार गरिने छैन र परलोक (आखिरत) मा ऊ घाटामा पर्नेहरूमध्ये हुनेछ।” [आले इम्रानः ८५] अल्लाहले भन्नुभएको छ:
﴿وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا كَآفَّةٗ لِّلنَّاسِ بَشِيرٗا وَنَذِيرٗا...﴾
“हामीले तपाईंलाई सम्पूर्ण मानवजातिका लागि शुभ-सूचना दिने र चेतावनी दिने बनाएर पठाएका छौं…।” [सूरह सबाः २८] अल्लाहले भन्नुभएको छ:
﴿وَمَآ أَرۡسَلۡنَٰكَ إِلَّا رَحۡمَةٗ لِّلۡعَٰلَمِينَ107﴾
“हामीले तपाईंलाई सम्पूर्ण जगतका लागि केवल कृपा (रहमत) बनाएर पठाएका छौं।” [अल् अम्बियाः १०७] अल्लाहले भन्नुभएको छ:
﴿...وَقُل لِّلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ وَٱلۡأُمِّيِّـۧنَ ءَأَسۡلَمۡتُمۡۚ فَإِنۡ أَسۡلَمُواْ فَقَدِ ٱهۡتَدَواْۖ وَّإِن تَوَلَّوۡاْ فَإِنَّمَا عَلَيۡكَ ٱلۡبَلَٰغُۗ وَٱللَّهُ بَصِيرُۢ بِٱلۡعِبَادِ﴾
“…किताब दिइएकाहरू र निरक्षरहरूलाई भनिदिनुहोस्: ‘के तिमीहरू इस्लाम स्वीकार गर्छौ?’ यदि उनीहरूले इस्लाम स्वीकार गरे भने उनीहरू सही मार्गमा आएका हुन्छन्। यदि उनीहरू विमुख भए भने तिम्रो कर्तव्य त केवल सन्देश पुर्याउनु मात्र हो। अल्लाह आफ्ना दासहरूलाई राम्ररी देखिरहनु भएको छ।” [आले इम्रानः २०] अल्लाहले भन्नुभएको छ:
﴿تَبَارَكَ ٱلَّذِي نَزَّلَ ٱلۡفُرۡقَانَ عَلَىٰ عَبۡدِهِۦ لِيَكُونَ لِلۡعَٰلَمِينَ نَذِيرًا1﴾
“उहाँ अत्यन्त बरकतपूर्ण हुनुहुन्छ, जसले आफ्ना दासमाथि फुरकान (कुरआन) अवतरण गर्नुभयो, ताकि उहाँ सम्पूर्ण संसारका लागि चेतावनी दिने बनून्।” [अल् फुरकानः १]
बुखारी र मुस्लिममा जाबिर (रजियल्लाहु अन्हु) बाट वर्णित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
«أُعْطِيتُ خَمْسًا لَمْ يُعْطَهُنَّ أَحَدٌ قَبْلِي: نُصِرْتُ بِالرُّعْبِ مَسِيرَةَ شَهْرٍ، وَجُعِلَتْ لِيَ الْأَرْضُ مَسْجِدًا وَطَهُورًا، فَأَيُّمَا رَجُلٍ مِنْ أُمَّتِي أَدْرَكَتْهُ الصَّلَاةُ، فَلْيُصَلّ، وَأُحِلَّتْ لِيَ الْمَغَانِمُ، وَلَمْ تُحَلَّ لِأَحَدٍ قَبْلِي، وَأُعْطِيتُ الشَّفَاعَةَ، وَكَانَ النَّبِيُّ يُبْعَثُ إِلَى قَوْمِهِ خَاصَّةً، وَبُعِثْتُ إِلَى النَّاسِ عَامَّةً».
“मलाई पाँच कुराहरू दिइएका छन्, जुन मभन्दा पहिले कसैलाई दिइएको थिएन: मलाई एक महिनाको दूरीसम्म (शत्रुहरूको हृदयमा) भयद्वारा सहायता दिइएको छ; मेरो लागि पृथ्वीलाई मस्जिद र पवित्र बनाइएको छ, त्यसैले मेरो उम्मतका जुनसुकै व्यक्तिलाई जहाँ पनि नमाजको समय पुग्छ, उसले त्यहीँ नमाज पढोस्; मेरो लागि गनीमत (युद्धमा प्राप्त सम्पत्ति) हलाल गरिएको छ, जुन मभन्दा पहिले कसैका लागि हलाल गरिएको थिएन; मलाई शफाअत (सिफारिस) दिइएको छ; र प्रत्येक नबी आफ्ना समुदायका लागि मात्र पठाइन्थ्यो, तर मलाई सम्पूर्ण मानवजातिका लागि विश्वव्यापी दूतको रूपमा पठाइएको छ।”
हाम्रो नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानवजातिका लागि विश्वव्यापी रसूल हुनुहुन्छ भन्ने कुराको यो स्पष्ट प्रमाण हो। यसले यसभन्दा पहिलेका सबै शरिअतहरूलाई रद्द (नस्ख) गरेको छ। साथै, जसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई पछ्याउँदैन र उहाँको आज्ञा पालन गर्दैन, ऊ काफिर र अवज्ञाकारी हो र उहाँको दण्डको योग्य हुन्छ। अल्लाह तआलाले भन्नुभएको छ:
﴿...وَمَن يَكۡفُرۡ بِهِۦ مِنَ ٱلۡأَحۡزَابِ فَٱلنَّارُ مَوۡعِدُهُۥ...﴾
“…विभिन्न समूहहरूमध्ये जसले उहाँलाई अस्वीकार गर्छ, उसको ठेगाना नरक हुनेछ…।” [हूदः १७] अल्लाहले भन्नुभएको छ:
﴿...فَلۡيَحۡذَرِ ٱلَّذِينَ يُخَالِفُونَ عَنۡ أَمۡرِهِۦٓ أَن تُصِيبَهُمۡ فِتۡنَةٌ أَوۡ يُصِيبَهُمۡ عَذَابٌ أَلِيمٌ﴾
“…त्यसैले जसले उहाँको आदेशको अवज्ञा गर्छन्, उनीहरू सावधान रहून् कि उनीहरूमाथि कुनै परीक्षा (फित्ना) नआओस् वा उनीहरूलाई कुनै पीडादायी सजाय नपरोस्।” [अन्नूरः ६३] अल्लाहले भन्नुभएको छ:
﴿وَمَن يَعۡصِ ٱللَّهَ وَرَسُولَهُۥ وَيَتَعَدَّ حُدُودَهُۥ يُدۡخِلۡهُ نَارًا خَٰلِدٗا فِيهَا وَلَهُۥ عَذَابٞ مُّهِينٞ14﴾
“जसले अल्लाह र उहाँका रसूलको अवज्ञा गर्छ र उहाँका सीमाहरू उल्लङ्घन गर्छ, अल्लाहले उसलाई नरकको आगोमा हाल्नुहुनेछ, जहाँ ऊ सधैं रहनेछ र उसको लागि अपमानजनक सजाय हुनेछ।” [अन्-निसा: १४] अल्लाहले भन्नुभएको छ:
﴿...وَمَن يَتَبَدَّلِ ٱلۡكُفۡرَ بِٱلۡإِيمَٰنِ فَقَدۡ ضَلَّ سَوَآءَ ٱلسَّبِيلِ﴾
“…जसले ईमानको सट्टा कुफ्र अपनाउँछ, उसले निश्चय नै सीधा मार्गबाट पूर्ण रूपमा भटकिसकेको छ।” [अल्-बकरह : १०८] यस अर्थका अन्य धेरै आयतहरू छन्।
अल्लाहले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालनलाई आफ्नो आज्ञापालनसँग जोड्नुभएको छ। उहाँले स्पष्ट पार्नुभएको छ कि जसले इस्लाम बाहेक अन्य धर्म अपनाउँछ, ऊ घाटामा हुनेछ; उसबाट कुनै प्रकारको फर्ज वा नाफिल स्वीकार गरिने छैन। अल्लाह तआलाले भन्नुभएको छ:
﴿وَمَنْ يَبْتَغِ غَيْرَ الْإِسْلَامِ دِينًا فَلَنْ يُقْبَلَ مِنْهُ وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ85﴾
“जसले इस्लाम बाहेक अन्य कुनै धर्म खोज्छ, उसको त्यो धर्म कहिल्यै स्वीकार गरिने छैन र ऊ परलोकमा घाटामा पर्नेहरूमध्ये हुनेछ।” [आले इम्रानः ८५] अल्लाहले भन्नुभएको छ:
﴿مَنْ يُطِعِ الرَّسُولَ فَقَدْ أَطَاعَ اللَّهَ...﴾
“जसले रसूलको आज्ञापालन गर्छ, उसले वास्तवमा अल्लाहकै आज्ञापालन गरेको हुन्छ।” [अन्-निसा: ८०] अल्लाहले भन्नुभएको छः
﴿قُلْ أَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ فَإِنْ تَوَلَّوْا فَإِنَّمَا عَلَيْهِ مَا حُمِّلَ وَعَلَيْكُمْ مَا حُمِّلْتُمْ وَإِنْ تُطِيعُوهُ تَهْتَدُوا...﴾
“भनिदेऊ: अल्लाहको आज्ञापालन गर र रसूलको आज्ञापालन गर। यदि तिमीहरू विमुख हुन्छौ भने उहाँमाथि केवल उहाँलाई दिइएको जिम्मेवारी छ, र तिमीहरूमाथि तिमीहरूलाई दिइएको जिम्मेवारी छ। र यदि तिमीहरूले उहाँको आज्ञापालन गर्यौ भने तिमीहरू मार्गदर्शन प्राप्त गर्नेछौ।” [सुरह नूर: ५४] अल्लाहले भन्नुभएको छ:
﴿إِنَّ الَّذِينَ كَفَرُوا مِنْ أَهْلِ الْكِتَابِ وَالْمُشْرِكِينَ فِي نَارِ جَهَنَّمَ خَالِدِينَ فِيهَا أُولَئِكَ هُمْ شَرُّ الْبَرِيَّةِ 6﴾
“निश्चय नै किताब दिइएकाहरू र मुशरिकहरूमध्ये जसले कुफ्र गरे, उनीहरू सधैं नरकको आगोमा रहनेछन्। यिनीहरू नै सृष्टिमध्ये सबैभन्दा निकृष्ट हुन्।” [अल्-बय्यिना: ६]
मुस्लिमले सही मा वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
«وَالَّذِي نَفْسِي بِيَدِهِ؛ لَا يَسْمَعُ بِي أَحَدٌ مِنْ هَذِهِ الْأُمَّةِ، يَهُودِيٌّ وَلَا نَصْرَانِيٌّ، ثُمَّ يَمُوتُ وَلَمْ يُؤْمِنْ بِالَّذِي أُرْسِلْتُ بِهِ؛ إِلَّا كَانَ مِنْ أَهْلِ النَّارِ».
"अल्लाहको कसम कसम, जसको हातमा मेरो प्राण छ! यस उम्मतका कुनै यहूदी वा इसाईले मेरो बारेमा सुन्छ र त्यसपछि मैले ल्याएको सन्देशमा ईमान नल्याई मर्छ भने, ऊ अवश्य नै नरकवासी हुनेछ।”
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो कथन र व्यवहारद्वारा इस्लाम धर्ममा प्रवेश नगर्नेहरूको धर्म अमान्य (बातिल) भएको कुरा स्पष्ट पार्नुभएको छ। उहाँले यहूदी र इसाईहरूसँग युद्ध गर्नुभएको छ, जसरी अन्य काफिरहरूसँग पनि युद्ध गर्नुभयो। साथै, उहाँले उनीहरूमध्ये जसले जिजया (कर) दिए उनीहरूबाट स्वीकार गर्नुभएको थियो, ताकि तिनीहरूले इस्लामको दावत (आह्वान) लाई बाँकी मानिसहरूसम्म पुग्न नदिने बाधा नबनाऊन्, र तिनीहरूमध्ये जो कोही इस्लाममा प्रवेश गर्न चाहन्छ उसले आफ्नो समुदायबाट डर—जस्तै रोकावट, प्रतिबन्ध वा हत्या—बिना इस्लाम स्वीकार गर्न सकून्।
बुखारी र मुस्लिममा अबु हुरैरा (रजियल्लाहु अन्हु) बाट वर्णित छ: हामी मस्जिदमा बसिरहेका थियौँ, त्यसै बेला अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाहिर आउनुभयो र भन्नुभयो:
«انْطَلِقُوا إِلَى يَهُودَ، فَخَرَجْنَا مَعَهُ حَتَّى جِئْنَا بَيْتَ الْمِدْرَاسِ، فَقَامَ النَّبِيُّ ﷺ، فَنَادَاهُمْ فَقَالَ :يَا مَعْشَرَ يَهُودَ، أَسْلِمُوا تَسْلَمُوا، فَقَالُوا: قَدْ بَلَّغْتَ يَا أَبَا الْقَاسِمِ، فَقَالَ لَهُمْ رَسُولُ اللَّهِ ﷺ: ذَلِكَ أُرِيدُ، أَسْلِمُوا تَسْلَمُوا، فَقَالُوا: قَدْ بَلَّغْتَ يَا أَبَا الْقَاسِمِ، فَقَالَ لَهُمْ رَسُولُ اللَّهِ ﷺ: ذَلِكَ أُرِيدُ، ثُمَّ قَالَهَا الثَّالِثَةَ...».
“यहूदीहरूतर्फ जाऊ” भन्ने आदेश भयो, त्यसपछि हामी उहाँसँगै निस्कियौं र बैतुल-मिदरास (यहूदीहरूको अध्ययनस्थल) मा पुग्यौं। तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उठ्नुभयो र उनीहरूलाई बोलाउँदै भन्नुभयो: “हे यहूदी समुदाय! इस्लाम स्वीकार गर, तिमीहरू सुरक्षित रहनेछौ।” उनीहरूले भने: “हे अबुल-कासिम! तपाईंले सन्देश पुर्याउनुभयो।”
तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई भन्नुभयो: “म यही चाहन्छु, इस्लाम स्वीकार गर, सुरक्षित रहनेछौ।” उनीहरूले भने: “हे अबुल-कासिम! तपाईंले सन्देश पुर्याउनुभयो।”तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले फेरि भन्नुभयो: “म यही चाहन्छु,” त्यसपछि उहाँले तेस्रो पटक पनि सोही कुरा भन्नुभयो…।” पूरा हदीस।
यसको मतलब: नबी (सल्लल्लाहु अलैहि वसल्लम) यहूदीहरूको अध्ययनस्थलमा गएर उनीहरूलाई इस्लामको निम्तो दिनुभयो र भन्नुभयो: “इस्लाम स्वीकार गर, तिमीहरू सुरक्षित रहनेछौ।” उहाँले यो कुरा उनीहरूका सामु बारम्बार दोहोर्याउनुभयो।
त्यसैगरी, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हेराक्लियस (हरक्ल)लाई इस्लामतर्फ आह्वान गर्दै एउटा पत्र पठाउनुभयो, जसमा उल्लेख थियो कि यदि उनले इन्कार गरे भने, उनको इन्कारका कारण इस्लाम स्वीकार नगर्ने मानिसहरूको पापको भार पनि उनैमाथि पर्नेछ। बुखारी र मुस्लिममा वर्णन भएअनुसार, हेराक्लियसले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पत्र मगाए, त्यसलाई पढे र त्यसमा यस्तो लेखिएको थियो:
«بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ، مِنْ مُحَمَّدٍ رَسُولِ اللَّهِ إِلَى هِرَقْلَ عَظِيمِ الرُّومِ، سَلَامٌ عَلَى مَنِ اتَّبَعَ الْهُدَى، أَمَّا بَعْدُ: فَإِنِّي أَدْعُوكَ بِدِعَايَةِ الْإِسْلَامِ، أَسْلِمْ تَسْلَمْ، وَأَسْلِمْ يُؤْتِكَ اللَّهُ أَجْرَكَ مَرَّتَيْنِ، فَإِنْ تَوَلَّيْتَ، فَإِنَّ عَلَيْكَ إِثْمَ الْأَرِيسِيِّينَ وَ
बिस्मिल्लाहिर-रहमानिर-रहीम। मुहम्मद, अल्लाहका रसूलबाट हेराक्लियस, रोमका महान शासकलाई। जो कोही सत्य मार्गदर्शनको अनुसरण गर्छ, उसमाथि शान्ति होस्। त्यसपछि: म तिमीलाई इस्लामको निम्तो दिन्छु। इस्लाम स्वीकार गर, तिमी सुरक्षित रहनेछौ। इस्लाम स्वीकार गर, अल्लाहले तिमीलाई दुई गुणा प्रतिफल दिनुहुनेछ। तर यदि तिमी विमुख भयौ भने, तिमीमाथि अरीसीयिन (तिम्रो प्रजाहरू) को पापको भार पर्नेछ।
﴿يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ تَعَالَوۡاْ إِلَىٰ كَلِمَةٖ سَوَآءِۭ بَيۡنَنَا وَبَيۡنَكُمۡ أَلَّا نَعۡبُدَ إِلَّا ٱللَّهَ وَلَا نُشۡرِكَ بِهِۦ شَيۡـٔٗا وَلَا يَتَّخِذَ بَعۡضُنَا بَعۡضًا أَرۡبَابٗا مِّن دُونِ ٱللَّهِۚ فَإِن تَوَلَّوۡاْ فَقُولُواْ ٱشۡهَدُواْ بِأَنَّا مُسۡلِمُونَ64﴾
“हे किताब दिइएकाहरू! यस्तो एउटा समान वाक्यतर्फ आउ, जुन हाम्रो र तिमीहरूको बीचमा समान छ—कि हामी अल्लाह बाहेक अरू कसैको उपासना नगरौं, उहाँसँग कुनै पनि चीजलाई साझेदार नबनाऔं र हामीमध्ये कसैले अर्कोलाई अल्लाह बाहेक ‘रब’ (पालनकर्ता) नमानोस्। यदि तिनीहरू विमुख हुन्छन् भने भनिदेऊ: ‘गवाही बस, हामी त मुस्लिम हौं।” [आले इम्रान: ६४]
त्यसपछि, जब उनीहरू फर्किए र इस्लाम स्वीकार गर्न अस्वीकार गरे, तब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबाहरूले उनीहरूसँग युद्ध गरे र उनीहरूमाथि जिजिया (कर) लगाइयो।
मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरियाले अघिल्ला धर्महरूलाई रद्द गरिसकेपछि उनीहरू पथभ्रष्ट र असत्य धर्ममा छन् भन्ने कुरा स्पष्ट पार्न, अल्लाहले मुस्लिमहरूलाई प्रत्येक दिन, प्रत्येक नमाजमा र प्रत्येक रकअतमा उहाँसँग सही, सीधा र स्वीकार्य मार्गको लागि प्रार्थना गर्न आदेश दिनुभएको छ, जुन हो—इस्लाम। त्यसैगरी, उसलाई क्रोधित गरिएकाहरूको मार्गबाट टाढा राखियोस्—जो यहूदीहरू र उनीहरूजस्ता मानिसहरू हुन्, जसले आफूहरू असत्यमा रहेको थाहा पाउँदापाउँदै पनि त्यसमै अडिग रहन्छन्। त्यसैगरी उसलाई भट्किएकाहरूको मार्गबाट पनि टाढा राखियोस्—जो ज्ञानबिनै उपासना गर्छन् र आफूहरू सही मार्गमा छन् भन्ने दाबी गर्छन्, जबकि उनीहरू वास्तवमा भट्किएको मार्गमा हुन्छन्। तिनीहरू हुन्—इसाईहरू र तिनीहरूजस्ता अन्य समुदायहरू, जो अज्ञानता र भ्रममा आधारित उपासनामा लागेका छन्। यी सबै यसका लागि हुन् कि मुस्लिमले पूर्ण निश्चितताका साथ जानोस्, इस्लाम बाहेक प्रत्येक धर्महरू असत्य (बातिल) हुन्। जसले इस्लाम बाहेक अरू तरिकाले अल्लाहको उपासना गर्छ, ऊ पथभ्रष्ट हो र जसले यो कुरामा विश्वास गर्दैन, त्यो मुस्लिम होइन। यस विषयमा कुरआन र सुन्नतमा धेरै प्रमाणहरू छन्।
त्यसैले उक्त लेखका लेखक—अब्दुल फत्ताह—ले इमानदारीपूर्वक सच्चा तौबा गर्न हतार गर्नुपर्छ र आफ्नो तौबाको घोषणा गर्ने एउटा लेख लेख्नुपर्छ। जसले इमानदारीपूर्वक सच्चा तौबा गर्छ, अल्लाहले उसको तौबा स्वीकार गर्नुहुन्छ; किनकि महान् अल्लाहले भन्नुभएको छ:
﴿...وَتُوبُوٓاْ إِلَى ٱللَّهِ جَمِيعًا أَيُّهَ ٱلۡمُؤۡمِنُونَ لَعَلَّكُمۡ تُفۡلِحُونَ﴾
“…हे ईमानवालाहरू! तिमीहरू सबै अल्लाहतर्फ तौबा गर, ताकि तिमीहरू सफल हुन सक।” [अन्नूरः ३१] अर्को स्थानमा अल्लाहले भन्नुभएको छ:
﴿وَٱلَّذِينَ لَا يَدۡعُونَ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ وَلَا يَقۡتُلُونَ ٱلنَّفۡسَ ٱلَّتِي حَرَّمَ ٱللَّهُ إِلَّا بِٱلۡحَقِّ وَلَا يَزۡنُونَۚ وَمَن يَفۡعَلۡ ذَٰلِكَ يَلۡقَ أَثَامٗا68 يُضَٰعَفۡ لَهُ ٱلۡعَذَابُ يَوۡمَ ٱلۡقِيَٰمَةِ وَيَخۡلُدۡ فِيهِۦ مُهَانًا69 إِلَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ عَمَلٗا صَٰلِحٗا فَأُوْلَٰٓئِكَ يُبَدِّلُ ٱللَّهُ سَيِّـَٔاتِهِمۡ حَسَنَٰتٖۗ وَكَانَ ٱللَّهُ غَفُورٗا رَّحِيمٗا70﴾
“जसले अल्लाहसँग अन्य कुनै देवतालाई पुकार्दैनन्, अल्लाहले हराम गरेको प्राणलाई अनाहक हत्या गर्दैनन्, र व्यभिचार (जिना) गर्दैनन्। जसले यीमध्ये कुनै गर्छ, उसले कठोर सजाय भोग्नेछ।
कियामतको दिन उसको सजाय दोब्बर गरिनेछ र ऊ त्यसैमा अपमानित भएर सधैं रहनेछ।
तर ती मानिसहरू बाहेक, जसले पश्चात्ताप गरे, ईमान ल्याए र सत्कर्म गरे। अल्लाहले तिनीहरूका खराब कर्महरूलाई असल कर्महरूमा परिवर्तन गरिदिनुहुनेछ। अल्लाह अत्यन्त क्षमाशील र दयावान् हुनुहुन्छ।” [अल् फुर्कानः ६८-७०] त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
«الإِسْلَامُ يَهْدِمُ مَا كَانَ قَبْلَهُ، وَالتَّوبَةُ تَهْدِمُ مَا كَانَ قَبْلَهَا».
“इस्लामले आफूभन्दा पहिलेका सबै (पापहरू) नष्ट गरिदिन्छ, र तौबाले पनि आफूभन्दा पहिलेका सबै (पापहरू) नष्ट गरिदिन्छ।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अर्को वचन छ:
«التَّائِبُ مِنَ الذَّنْبَ كَمَنْ لَا ذَنْبَ لَهُ».
“पापबाट पश्चात्ताप गर्ने व्यक्ति पाप नगरेको जस्तै हुन्छ।”
यस अर्थमा कुरआनका आयतहरू र हदीसहरू धेरै छन्।
म अल्लाहसँग प्रार्थना गर्दछु कि उहाँले हामीलाई सत्यलाई सत्यको रूपमा देखाउने र त्यसलाई पालन गर्ने क्षमता प्रदान गरून्, र हामीलाई असत्यलाई असत्यको रूपमा देखाउने र त्यसबाट टाढा रहने क्षमता प्रदान गरून्। साथै, हामीलाई, लेखक अब्दुल-फत्ताहलाई र सम्पूर्ण मुस्लिमहरूलाई सच्चा तौबा गर्ने तौफीक प्रदान गरून्, र हामी सबैलाई भ्रामक प्रलोभनहरू, इच्छाहरू तथा शैतानको आज्ञापालनबाट सुरक्षित राखून्। निस्सन्देह, उहाँ नै हाम्रा संरक्षक हुनुहुन्छ र हरेक कुरामा सर्वशक्तिमान् हुनुहुन्छ।
हाम्रा पैगम्बर मुहम्मद, उहाँको परिवार, उहाँका सहाबीहरू र न्यायको दिनसम्म भलाइका साथ उहाँहरूको अनुसरण गर्ने सबैमाथि अल्लाहको कृपा र शान्ति रहोस्।
***
ne397v4.0 - 04/06/2026