مَنْ خَلَقَ الكَونَ؟ وَمَنْ خَلَقَنِي؟ وَلِمَاذَا؟
संसारलाई कसले सृष्टि गर्यो? मलाई कसले सृष्टि गर्यो र किन?
اللَّجْنَةُ العِلْمِيَّةُ
بِرِئَاسَةِ الشُّؤُونِ الدِّينِيَّةِ بِالمَسْجِدِ الحَرَامِ وَالمَسْجِدِ النَّبَوِيِّ
वैज्ञानिक समिति मस्जिद हराम र मस्जिद नबवीका धार्मिक मामिलाहरूको अध्यक्षतामा
بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ
संसारलाई कसले सृष्टि गर्यो? मलाई कसले सृष्टि गर्यो र किन?
वैज्ञानिक समिति
मस्जिद हराम र मस्जिद नबवीका धार्मिक मामिलाको अध्यक्षतामा
के म सही मार्गमा छु?
आकाश, पृथ्वी र त्यसमा भएका असीमित महान सृष्टिहरूलाई कसले सृष्टि गर्यो?
आकाश र पृथ्वीमा यो सटीक र अत्यन्त सूक्ष्म प्रणाली कसले बनायो?
मानिसलाई कसले सृष्टि गर्यो? उसलाई सुन्ने शक्ति, देख्ने क्षमता र बुद्धि कसले प्रदान गर्यो? उसलाई ज्ञान प्राप्त गर्न र तथ्यहरू बुझ्न सक्षम कसले बनायो?
तपाईंको शरीरका अंगहरूमा रहेको यो सूक्ष्म र अद्भुत संरचना कसले बनायो र तपाईंलाई सुन्दर आकार कसले दियो?
विभिन्न जीवित प्राणीहरूमा चिन्तन गर्नुहोस्; असीमित रूप र रंगहरूमा तिनीहरूलाई कसले सिर्जना गर्यो?
यो महान ब्रह्माण्ड वर्षौंदेखि यति सटीक रूपमा कसरी व्यवस्थित र स्थिर रूपमा चलिरहेको छ?
यस संसारलाई नियन्त्रण गर्ने प्रणालीहरू (जीवन र मृत्यु, जीवित प्राणीहरूको प्रजनन, दिन र रात, ऋतुहरूको परिवर्तन) आदिलाई कसले स्थापना गर्यो?
के यस ब्रह्माण्डले आफैंलाई सिर्जना गरेको हो? वा शून्यबाट आएको हो? वा यो केवल संयोगले अस्तित्वमा आएको हो? अल्लाहले भन्नुभएको छ:
﴿أَمۡ خُلِقُواْ مِنۡ غَيۡرِ شَيۡءٍ أَمۡ هُمُ ٱلۡخَٰلِقُونَ٣٥ أَمۡ خَلَقُواْ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۚ بَل لَّا يُوقِنُونَ36﴾
"के तिनीहरू शून्यबाट सृष्टि गरिएका हुन् वा तिनीहरू नै सृष्टिकर्ता हुन्?
वा के तिनीहरूले आकाशहरू र पृथ्वी सृष्टि गरेका हुन्? होइन, बरु तिनीहरू ईमान नल्याउने मानिस हुन्।" [अत्तूरः ३५-३६]
यदि हामीले आफैंलाई सृष्टि गरेका होइनौं र हामी शून्यबाट आएका वा संयोगले अस्तित्वमा आएका हौँ भन्ने कुरा असम्भव छ भने, तसर्थ, निःसन्देह सत्य यही हो: यस ब्रह्माण्डको एक महान् र सर्वशक्तिमान् सृष्टिकर्ता अवश्य हुनुपर्छ, किनकि यो ब्रह्माण्ड आफैं सिर्जना भएको वा शून्यबाट आएको हो! वा संयोगले आएको असम्भव छ!
मानिस किन त्यस्ता चीजहरूको अस्तित्वमा विश्वास गर्छ जुन उसले देख्न सक्दैन? जस्तै: (बोध, बुद्धि, आत्मा, भावना र प्रेम) के यो त्यसका प्रभावहरू देख्ने भएकै कारण होइन र? त्यसो भए, मानिसले यस महान् ब्रह्माण्डका सृष्टिकर्ताको अस्तित्वलाई कसरी इन्कार गर्न सक्छ, जबकि ऊ उहाँका सृष्टिहरू, उहाँको सिर्जना र उहाँको कृपाका चिन्हहरू देखिरहेको हुन्छ?!
यो घर कसैले नबनाई आफैं बनेको हो वा शून्यताले यसलाई सिर्जना गरेको हो भनेर भनियो भने कुनै पनि बुद्धिमान् व्यक्तिले स्वीकार्दैन। त्यसो भए, यो महान् ब्रह्माण्ड कुनै सृष्टिकर्ता बिना नै अस्तित्वमा आएको हो भनेर कसरी मान्न सकिन्छ? यस ब्रह्माण्डको यस्तो सूक्ष्म र सटीक व्यवस्था केवल संयोगले बनेको हो भनेर कसरी स्वीकार गर्न सकिन्छ? केही आफूलाई बुद्धिमान् ठान्ने मानिसहरूले यस्तो कुरा कसरी पत्याउँछन्?!
यी सबै कुराहरूले हामीलाई एउटै निष्कर्षमा पुर्याउँछन्; यस ब्रह्माण्डका एक महान् र सर्वशक्तिमान् सृष्टिकर्ता हुनुहुन्छ, जसले यसलाई सञ्चालन गर्नुहुन्छ। उहाँ नै एक्लै उपासना योग्य हुनुहुन्छ र उहाँ बाहेक जसको पनि उपासना गरिन्छ, त्यो असत्य हो। किनकि उहाँ बाहेक कुनै पनि सच्चा उपासना योग्य छैन।
महान सृष्टिकर्ता
यस संसारको सृष्टिकर्ता एक मात्र हुनुहुन्छ। उहाँ नै मालिक, व्यवस्थापक र पालनपोषणकर्ता हुनुहुन्छ। जीवन र मृत्यु उहाँकै हातमा छ। उहाँले नै पृथ्वी सिर्जना गर्नुभयो र यसलाई सहज तथा आफ्ना सृष्टिहरूका लागि उपयुक्त बनाउनु भयो। उहाँले आकाश र त्यहाँ रहेका विशाल प्राणीहरू सिर्जना गर्नुभयो। उहाँले नै सूर्य, चन्द्रमा, दिन र रातका लागि सूक्ष्म प्रणाली स्थापना गर्नुभयो, जसले उहाँको महानतालाई दर्शाउँछ।
उहाँ नै हुनुहुन्छ जसले हावालाई हाम्रो नियन्त्रणमा राख्नुभयो, जसबिना हामी बाँच्न सक्दैनौं। उहाँ नै हुनुहुन्छ जसले हामीमाथि वर्षा बर्साउनुभयो र समुद्र तथा नदीहरूलाई हाम्रो अधीनमा राख्नुभयो। उहाँ नै हुनुहुन्छ जसले आमाको गर्भमा भ्रूणको रूपमा हामीलाई पोषण र सुरक्षा दिनुभयो, जब हामीसँग कुनै शक्ति थिएन। जन्मदेखि मृत्युसम्म हाम्रो नसामा रगत प्रवाह गराइरहने पनि उहाँ नै हुनुहुन्छ।
यो महान् सृष्टिकर्ता र पालनकर्ता अल्लाह नै हुनुहुन्छ।
अल्लाहले भन्नुभएको छ:
﴿إِنَّ رَبَّكُمُ ٱللَّهُ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ يُغۡشِي ٱلَّيۡلَ ٱلنَّهَارَ يَطۡلُبُهُۥ حَثِيثٗا وَٱلشَّمۡسَ وَٱلۡقَمَرَ وَٱلنُّجُومَ مُسَخَّرَٰتِۭ بِأَمۡرِهِۦٓۗ أَلَا لَهُ ٱلۡخَلۡقُ وَٱلۡأَمۡرُۗ تَبَارَكَ ٱللَّهُ رَبُّ ٱلۡعَٰلَمِينَ54﴾
"निःसन्देह तिम्रो पालनकर्ता अल्लाह नै हुनुहुन्छ, जसले आकाश र पृथ्वीलाई छ दिनमा सिर्जना गर्नुभयो र त्यसपछि आफ्नो सिंहासन (अर्श) माथि उच्च हुनुभयो। उहाँले रातलाई दिनले ढाक्नुहुन्छ र दिन रातको पछि दौडेर आउँछ। सूर्य, चन्द्रमा र ताराहरू उहाँको आज्ञाको अधीनमा छन्। सृष्टि र आदेश दुवै उहाँकै हुन्। अल्लाह धन्य छन्, सम्पूर्ण जगतका पालनकर्ता।" [अल-आराफ : ५४]
अल्लाह सम्पूर्ण ब्रह्माण्डका दृश्य र अदृश्य सबै चीजहरूको सृष्टिकर्ता र पालनकर्ता हुनुहुन्छ। उहाँ बाहेक सबै प्राणी उहाँकै सृष्टिहरू हुन्। केवल उहाँ नै एक्लै उपासना योग्य हुनुहुन्छ र उहाँसँगै अरू कसैको पूजा गर्नु हुँदैन। उहाँको प्रभुत्व, सृष्टि, व्यवस्थापन वा उपासनामा कुनै साझेदार छैन।
यदि हामी तर्कको लागि मानौं कि अल्लाह बाहेक अरू देवी-देवताहरू पनि छन् भने, तब यो ब्रह्माण्डको व्यवस्था नै बिग्रिन्थ्यो; किनकि एउटै समयमा दुई ईश्वरहरूले संसारको संचालन गर्नु असम्भव छ। अल्लाहले भन्नुभयो:
﴿لَوۡ كَانَ فِيهِمَآ ءَالِهَةٌ إِلَّا ٱللَّهُ لَفَسَدَتَا...﴾
"यदि आकाश र पृथ्वीमा अल्लाह बाहेक अरू कोही पूज्य हुँन्थे भने, दुवै बर्बाद भइसकेका हुन्थे।" [अल्-अम्बिया: २२]
सृष्टिकर्ताका गुणहरू
अल्लाहका अनगिन्ती सुन्दर नामहरू छन् र उहाँका उच्च तथा महान् गुणहरू छन्, जसले उहाँको पूर्णता दर्शाउँछन्। उहाँका नामहरू मध्ये "अल-खालिक" (सृष्टिकर्ता) र "अल्लाह" हुन्, जसको अर्थ हो—एक्लै उपासना योग्य, जसको कुनै साझेदार छैन। त्यसैगरी "अल-हय्य" (सदा जीवित), "अल-कय्यूम" (आफैंमा स्थिर र सबैलाई धारण गर्ने), "अर-रहीम" (अत्यन्त दयालु), "अर-रज्जाक" (रोजी प्रदान गर्ने) र "अल-करीम" (उदार) आदि पनि उहाँका नामहरू हुन्। अल्लाहले पवित्र कुर्आनमा भन्नुभएको छ:
﴿ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلۡحَيُّ ٱلۡقَيُّومُۚ لَا تَأۡخُذُهُۥ سِنَةٞ وَلَا نَوۡمٞۚ لَّهُۥ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۗ مَن ذَا ٱلَّذِي يَشۡفَعُ عِندَهُۥٓ إِلَّا بِإِذۡنِهِۦۚ يَعۡلَمُ مَا بَيۡنَ أَيۡدِيهِمۡ وَمَا خَلۡفَهُمۡۖ وَلَا يُحِيطُونَ بِشَيۡءٖ مِّنۡ عِلۡمِهِۦٓ إِلَّا بِمَا شَآءَۚ وَسِعَ كُرۡسِيُّهُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۖ وَلَا يَـُٔودُهُۥ حِفۡظُهُمَاۚ وَهُوَ ٱلۡعَلِيُّ ٱلۡعَظِيمُ255﴾
"अल्लाह बाहेक कुनै पनि साँचो ईश्वर छैन। उहाँ सदा जीवित (अल-हय्य) र सबैलाई धारण गर्ने (अल-कय्यूम) हुनुहुन्छ। उहाँलाई न त ऊँघ लाग्छ न त निद्रा लाग्छ। आकाशहरूमा र पृथ्वीमा जे छ, सबै उहाँकै हो। उहाँको अनुमति बिना उहाँसमक्ष सिफारिस गर्ने को छ? उहाँ तिनीहरूको अगाडि र पछाडिका सबै कुरा जान्नुहुन्छ। उहाँको ज्ञानबाट कसैले पनि केही समेट्न सक्दैन, सिवाय उहाँले चाहनुभएको मात्र। उहाँको कुर्सी आकाश र पृथ्वीभरि फैलिएको छ र तिनीहरूको संरक्षण उहाँका लागि कुनै कठिन छैन। उहाँ सर्वोच्च र अत्यन्त महान् हुनुहुन्छ।" [सूरह अल्-बकरह:२५५]
अल्लाहले भन्नुभएको छ:
﴿قُلۡ هُوَ ٱللَّهُ أَحَدٌ١ ٱللَّهُ ٱلصَّمَدُ ٢ لَمۡ يَلِدۡ وَلَمۡ يُولَدۡ ٣ وَلَمۡ يَكُن لَّهُۥ كُفُوًا أَحَدُۢ4﴾
"भन्नुहोस्: उहाँ अल्लाह एक मात्र हुनुहुन्छ।
अल्लाह निरपेक्ष र सबैका लागि आश्रय हुनुहुन्छ।
उहाँले न जन्माउनु भएको छ र न उहाँ जन्मिनुभएको छ।
उहाँको कुनै पनि बराबरी वा समकक्ष कोही छैन।"
[अल् इख्लासः १-४]
सत्य इश्वर (अल्लाह) आफ्ना सबै गुणहरूमा परिपूर्ण हुनुहुन्छ
उहाँको एउटा विशेषता के छ भने केवल उहाँ उपासना योग्य हुनुहुन्छ र उहाँ बाहेक सबै उहाँकै सृष्टि हुन्, जो आदेश पालना गर्ने र अधीनस्थ छन्।
उहाँको एउटा गुण के छ भने उहाँ सदा जीवित र आत्मनिर्भर हुनुहुन्छ। यस पृथ्वीमा रहेका प्रत्येक प्राणीलाई उहाँले शून्यबाट सृष्टि गर्नुभएको हो। उहाँले सबैलाई जीविका प्रदान गर्नुहुन्छ, उनीहरूका आवश्यकताहरू पूरा गर्नुहुन्छ र सम्पूर्ण संसारको हेरचाह गर्नुहुन्छ। पालनकर्ता सदा जीवित हुनुहुन्छ; उहाँ कहिल्यै मर्नुहुन्न, उहाँको विनाश असम्भव छ, किनकि उहाँ अनन्त हुनुहुन्छ। उहाँलाई न त ऊँघ आउँछ न त निद्रा लाग्छ।
उहाँ (अल्लाह) को अर्को गुण के छ भने उहाँ सर्वज्ञ हुनुहुन्छ, आकाश र पृथ्वीमा कुनै पनि कुरा उहाँबाट लुकेको छैन।
उहाँको एउटा गुण के छ भने उहाँ उहाँ सर्वश्रवण र सर्वद्रष्टा हुनुहुन्छ। उहाँले सबै कुराहरू सुन्नुहुन्छ र हरेक सृष्टिलाई देख्नुहुन्छ। हृदयमा उत्पन्न हुने विचारहरू र छातीमा लुकेका रहस्यहरू पनि उहाँ राम्ररी जान्नुहुन्छ। आकाश वा पृथ्वीमा कुनै पनि कुरा उहाँबाट लुकेको छैन।
उहाँको एउटा विशेषता के छ भने उहाँ कदीर (सर्वशक्तिमान) हुनुहुन्छ। उहाँलाई कसैले हराउन सक्दैन, न त उहाँको इच्छालाई रोक्न सक्छ। उहाँ जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ र जे चाहनुहुन्छ, त्यसलाई रोक्नुहुन्छ। उहाँ जसलाई चाहनुहुन्छ अगाडि बढाउनुहुन्छ र जसलाई चाहनुहुन्छ पछाडि राख्नुहुन्छ। उहाँ सर्वज्ञ र अत्यन्त बुद्धिमान हुनुहुन्छ।
उहाँको एउटा विशेषता के छ भने उहाँ सृष्टिकर्ता, पालनपोषणकर्ता र सञ्चालक हुनुहुन्छ। उहाँले नै यो संसार सृष्टि गर्नुभएको हो र उहाँले नै यसको व्यवस्थापन गर्नुहुन्छ। सम्पूर्ण सृष्टि उहाँकै अधीनमा छ।
उहाँको एउटा गुण के छ भने उहाँ नै संकटमा परेकाको पुकार सुन्नुहुन्छ, पीडितलाई सहायता गर्नुहुन्छ र दुःख–कष्ट हटाइदिनुहुन्छ। प्रत्येक सृष्टि जब कुनै कठिनाइ वा सङ्कटमा पर्छ, तब ऊ बाध्य भएर उहाँतिर नै आश्रय लिन्छ।
उपासना केवल अल्लाहकै लागि हुनुपर्छ, किनकि उहाँ नै पूर्ण र एक्लै उपासना योग्य हुनुहुन्छ। उहाँ बाहेक जसको पनि उपासना गरिन्छ, त्यो असत्य रूपमा उपासित हो; त्यो अपूर्ण छ र मृत्यु तथा विनाशको अधीनमा छ।
अल्लाहले हामीलाई बुद्धि प्रदान गर्नुभएको छ, जसले हामीलाई उहाँको महानता केही हदसम्म बुझ्न सहयोग गर्छ। उहाँले हाम्रो भित्र जन्मजात यस्तो स्वाभाव स्थापना गर्नुभएको छ, जसले असल कुरालाई मन पराउँछ र खराब कुरालाई घृणा गर्छ। जब हामी सम्पूर्ण जगतका पालनकर्ता; अल्लाहतर्फ फर्किन्छौं, तब हामी शान्ति र सन्तुष्टि अनुभव गर्छौं। यो स्वाभावले उहाँको पूर्णता र शुद्धतालाई प्रमाणित गर्छ, किनकि उहाँमा कुनै कमी हुनु असम्भव छ।
परमात्मा बाहेक अरू कसैको पूजा गर्नु बुद्धिमान व्यक्तिको लागि उचित छैन। त्यसोभए मानिसले कसरी आफू जस्तो अपूर्ण प्राणी वा आफूभन्दा तल्लो स्तरको प्राणीलाई पूजा गर्न सक्छ?
उपास्य कुनै मानिस, मूर्ति, रूख वा जनावर हुन सक्दैन!
अल्लाह, आकाश भन्दा माथि आफ्नो अर्श (सिंहासन) माथि मुस्तवी (उच्च) हुनुहुन्छ। उहाँ आफ्नो सृष्टिबाट अलग हुनुहुन्छ। उहाँभित्र न त कुनै सृष्टि समाहित छ न त उहाँ कुनै सृष्टिभित्र समाहित हुनुहुन्छ। न त उहाँ कुनै सृष्टिमा प्रवेश गर्नुहुन्छ, न त कुनै सृष्टिको रूपमा प्रकट हुनुहुन्छ।
प्रभु (अल्लाह) कसैसँग तुलना गर्न सकिँदैन; उहाँको कुनै बराबरी छैन। उहाँ सर्वश्रवण र सर्वद्रष्टा हुनुहुन्छ र आफ्ना सृष्टिहरूबाट स्वतन्त्र हुनुहुन्छ। उहाँ न त सुत्नुहुन्छ न त भोजन गर्नुहुन्छ। उहाँ महान हुनुहुन्छ र उहाँसँग कुनै पत्नी वा छोरा हुन सक्दैन। सृष्टिकर्ताका गुणहरू अत्यन्त महान छन् र उहाँलाई कुनै आवश्यकता वा कमीले चित्रित गर्न सकिँदैन।
अल्लाहले भन्नुभएको छ:
﴿يَٰٓأَيُّهَا ٱلنَّاسُ ضُرِبَ مَثَلٞ فَٱسۡتَمِعُواْ لَهُۥٓۚ إِنَّ ٱلَّذِينَ تَدۡعُونَ مِن دُونِ ٱللَّهِ لَن يَخۡلُقُواْ ذُبَابٗا وَلَوِ ٱجۡتَمَعُواْ لَهُۥۖ وَإِن يَسۡلُبۡهُمُ ٱلذُّبَابُ شَيۡـٔٗا لَّا يَسۡتَنقِذُوهُ مِنۡهُۚ ضَعُفَ ٱلطَّالِبُ وَٱلۡمَطۡلُوبُ ٧٣ مَا قَدَرُواْ ٱللَّهَ حَقَّ قَدۡرِهِۦٓۚ إِنَّ ٱللَّهَ لَقَوِيٌّ عَزِيزٌ74﴾
"हे मानिसहरू! एउटा उदाहरण प्रस्तुत गरिएको छ, त्यसलाई ध्यानपूर्वक सुन। तिमीहरूले अल्लाह बाहेक जसको पूजा गर्छौ, तिनीहरूले एउटै झिंगा पनि सिर्जना गर्न सक्दैनन्, यद्यपि तिनीहरू सबै जम्मा भए पनि। यदि झिङ्गाले उनीहरूसँग केही खोस्छ भने, उनीहरूले त्यसलाई फिर्ता लिन सक्दैनन्। याचक र जसबाट याचना गरिन्छ, दुवै कमजोर छन्।
उनीहरूले अल्लाहको वास्तविक हैसियत अनुसार उहाँको सम्मान गर्न सकेनन्। निश्चय नै अल्लाह महान्, बलवान् र अधिपत्यशाली हुनुहुन्छ। [अल्-हज्ज: ७३-७४]
महान् सृष्टिकर्ताले हामीलाई किन सृष्टि गर्नुभयो? उहाँ हामीबाट के चाहनुहुन्छ?
के यो बुद्धिमानी छ कि अल्लाहले यी सम्पूर्ण सृष्टिहरू उद्देश्यविहीन र व्यर्थ सिर्जना गर्नुभएको हो, जबकि उहाँ दयालु, बुद्धिमान् र सर्वज्ञ हुनुहुन्छ?
के यो सम्भव छ, जसले हामीलाई यति सटीक र कुशलतापूर्वक सिर्जना गर्नुभयो, आकाश र पृथ्वीमा भएका सबै चीजहरू हाम्रो सेवा र फाइदाका लागि बनाउनु भयो, उहाँले हामीलाई उद्देश्यविहीन सिर्जना गर्नुभएको हो? वा हामीलाई ती मुख्य प्रश्नहरूको उत्तर बिना छोडिदिनुभयो, जस्तै: हामी यहाँ किन छौं? मृत्युपछि के हुन्छ? हाम्रो सृष्टिको उद्देश्य के हो?
के यो कल्पना गर्न सकिन्छ, अत्याचारीलाई कुनै दण्ड र उपकार गर्नेलाई कुनै पुरस्कार दिइने छैन?
अल्लाहले भन्नुभएको छ:
﴿أَفَحَسِبۡتُمۡ أَنَّمَا خَلَقۡنَٰكُمۡ عَبَثٗا وَأَنَّكُمۡ إِلَيۡنَا لَا تُرۡجَعُونَ115﴾
"के तिमीले यो ठानेका छौ, हामीले तिमीलाई व्यर्थमा सिर्जना गरेका छौं र तिमीलाई हामीतिर फर्काइने छैन?" [अल् मूमिनूनः ११५]
बरु, अल्लाहले सन्देशवाहकहरू पठाउनुभयो ताकि हामी हाम्रो अस्तित्वको उद्देश्य जानौं, उहाँलाई कसरी उपासना गर्ने र उहाँको नजिक जाने भनेर सिकौं, उहाँ हामीबाट के चाहनुहुन्छ थाहा पाऔं, उहाँको संतुष्टि कसरी पाउने थाहा पाऔं र मृत्युपश्चात हाम्रो भाग्य के हुन्छ भन्ने जानकारी पाऔं।
केवल अल्लाह एक्लै उपासना योग्य हुनुहुन्छ भनेर हामीलाई बताउन, उहाँलाई कसरी उपासना गर्ने भनेर सिकाउन, उहाँका आज्ञा र निषेधहरूको जानकारी दिन र हामीलाई नैतिक मूल्यहरू सिकाउन अल्लाहले सन्देशवाहकहरू पठाउनुभयो। यदि हामीले उनीहरूको मार्गदर्शन अनुसार चल्यौं भने, हाम्रो जीवन भलाइ, सुख र आशीर्वादले भरिनेछ।
अल्लाहले धेरै सन्देशवाहकहरू पठाउनुभएको छ, जस्तै: नूह, इब्राहीम, मुसा र ईसा (येशू)। अल्लाहले उनीहरूलाई चिन्हहरू र चमत्कारहरूद्वारा समर्थन गर्नुभएको छ, जसले प्रमाणित गर्दछ, उनीहरू अल्लाहद्वारा पठाइएका साँच्चा नबी र दूतहरू हुन्। यस श्रृंखलाका अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) हुनुहुन्छ।
यो जीवन केवल एक परीक्षा हो र वास्तविक जीवन मृत्यु पछिको जीवन हो। भनेर सन्देशवाहकहरूले स्पष्ट रूपमा भनेका छन्।
केवल अल्लाहलाई उपासना गर्ने, उहाँसँग कुनै साझेदार नराख्ने र उहाँले पठाएका सबै सन्देशवाहकहरूमा विश्वास गर्नेहरूको लागि स्वर्ग तयार गरिएको छ। तर अल्लाहसँगै अरू देवी-देवताहरूको पूजा गर्ने वा अल्लाहका कुनै पनि सन्देशवाहकलाई अस्वीकार गर्ने अविश्वासीहरूको लागि नर्क तयार गरिएको छ।
अल्लाहले भन्नुभएको छ:
﴿يَٰبَنِيٓ ءَادَمَ إِمَّا يَأۡتِيَنَّكُمۡ رُسُلٞ مِّنكُمۡ يَقُصُّونَ عَلَيۡكُمۡ ءَايَٰتِي فَمَنِ ٱتَّقَىٰ وَأَصۡلَحَ فَلَا خَوۡفٌ عَلَيۡهِمۡ وَلَا هُمۡ يَحۡزَنُونَ ٣٥ وَٱلَّذِينَ كَذَّبُواْ بِـَٔايَٰتِنَا وَٱسۡتَكۡبَرُواْ عَنۡهَآ أُوْلَٰٓئِكَ أَصۡحَٰبُ ٱلنَّارِۖ هُمۡ فِيهَا خَٰلِدُونَ36﴾
"हे आदमका सन्तानहरू! यदि तिमीहरूमध्येबाटै कुनै सन्देशवाहक तिमीहरूकहाँ आउँछ रतिमीहरूलाई मेरा चिन्हहरू सुनाउँछ, जो डर राख्छ र सुधार गर्छ, उसलाई न त कुनै डर हुनेछ न उसले दुःख भोग्नेछ।
जो हाम्रो चिन्हहरूलाई झुठो ठान्छन् र त्यसप्रति घमण्ड गर्छन्, ती नै नर्कका साथीहरू हुन्; उनीहरू त्यहाँ सधैं बस्नेछन्।" [अल्-आअराफः ३५-३६]
अल्लाहले भन्नुभएको छ:
﴿يَٰٓأَيُّهَا ٱلنَّاسُ ٱعۡبُدُواْ رَبَّكُمُ ٱلَّذِي خَلَقَكُمۡ وَٱلَّذِينَ مِن قَبۡلِكُمۡ لَعَلَّكُمۡ تَتَّقُونَ٢١ ٱلَّذِي جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ فِرَٰشٗا وَٱلسَّمَآءَ بِنَآءٗ وَأَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءٗ فَأَخۡرَجَ بِهِۦ مِنَ ٱلثَّمَرَٰتِ رِزۡقٗا لَّكُمۡۖ فَلَا تَجۡعَلُواْ لِلَّهِ أَندَادٗا وَأَنتُمۡ تَعۡلَمُونَ ٢٢ وَإِن كُنتُمۡ فِي رَيۡبٖ مِّمَّا نَزَّلۡنَا عَلَىٰ عَبۡدِنَا فَأۡتُواْ بِسُورَةٖ مِّن مِّثۡلِهِۦ وَٱدۡعُواْ شُهَدَآءَكُم مِّن دُونِ ٱللَّهِ إِن كُنتُمۡ صَٰدِقِينَ ٢٣ فَإِن لَّمۡ تَفۡعَلُواْ وَلَن تَفۡعَلُواْ فَٱتَّقُواْ ٱلنَّارَ ٱلَّتِي وَقُودُهَا ٱلنَّاسُ وَٱلۡحِجَارَةُۖ أُعِدَّتۡ لِلۡكَٰفِرِينَ ٢٤ وَبَشِّرِ ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّٰلِحَٰتِ أَنَّ لَهُمۡ جَنَّٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُۖ كُلَّمَا رُزِقُواْ مِنۡهَا مِن ثَمَرَةٖ رِّزۡقٗا قَالُواْ هَٰذَا ٱلَّذِي رُزِقۡنَا مِن قَبۡلُۖ وَأُتُواْ بِهِۦ مُتَشَٰبِهٗاۖ وَلَهُمۡ فِيهَآ أَزۡوَٰجٞ مُّطَهَّرَةٞۖ وَهُمۡ فِيهَا خَٰلِدُونَ25﴾
“हे मानिसहरू! आफ्नो पालनकर्ताको उपासना गर, जसले तिमीहरूलाई र तिमीहरूभन्दा अघिका मानिसहरूलाई सृष्टि गर्नुभयो, ताकि तिमीहरू धर्मी बन्न सक।
उहाँ नै हुनुहुन्छ जसले पृथ्वीलाई तिमीहरूका लागि बिछ्यौना बनाउनु भयो र आकाशलाई छाना (संरचना) बनाउनु भयो। उहाँले आकाशबाट पानी वर्षाउनुभयो, अनि त्यसबाट तिमीहरूका लागि जीविकाको रूपमा फलफूलहरू उत्पन्न गर्नुभयो। त्यसैले जान्दाजान्दै अल्लाहसँग कुनै साझेदार नबनाऊ।
यदि तिमीहरूलाई हामीले आफ्नो सेवकमाथि अवतरित गरेको कुरा (कुरआन) मा शंका छ भने त्यस्तै एउटा अध्याय (सूरा) ल्याएर देखाऊ, यदि तिमीहरू सत्यवादी हौ भने र अल्लाहबाहेक आफ्ना सहयोगीहरूलाई पनि बोलाऊ।
तर यदि तिमीहरूले गर्न सकेनौ र कहिल्यै गर्न सक्नेछैनौ भने त्यस आगोबाट डराऊ, जसको इन्धन मानिसहरू र ढुङ्गाहरू हुन्, जुन काफिरहरूका लागि तयार पारिएको छ।
हे नबी! ईमान ल्याउने र असल कर्म गर्नेहरूलाई शुभसूचना देऊ: उनीहरूका लागि त्यस्ता बगैंचाहरू (स्वर्ग) छन् जसको तलबाट नहरहरू बगिरहेका छन्। त्यहाँ उनीहरूलाई फलहरू जीविकाका रूपमा दिइनेछ र उनीहरूले भन्छन्: ‘यो त त्यही हो जुन हामीलाई पहिले दिइएको थियो।’ उनीहरूलाई आपसमा मिल्दोजुल्दो फलहरू दिइनेछ। त्यहाँ उनीहरूको लागि पवित्र पत्नीहरू पनि हुनेछिन् र उनीहरू त्यहीँ सधैंका लागि बस्नेछन्।" [अल-बकरह : २१-२५]
किन धेरै रसूल (दूत) हरू पठाइए?
अल्लाहले प्रत्येक समुदायमा सन्देशवाहकहरू पठाउनुभयो। कुनै पनि समुदाय यस्तो छैन जहाँ उहाँले दूत नपठाएको होस्। सबै सन्देशवाहकहरूको मुख्य उद्देश्य एउटै थियो: केवल एक अल्लाहको उपासना गर्न आह्वान। जब कुनै समुदायले आफ्नो दूतले ल्याएको मार्ग त्याग्न वा बिगार्न थाल्यो, अल्लाहले अर्को दूत पठाएर मानिसहरूलाई सही मार्गमा फर्काउनुभयो र उनीहरूलाई अल्लाहको एकत्व र आज्ञापालनको शुद्ध मार्गमा पुन: ल्याउनुभयो।
यहाँसम्म अल्लाहले अन्तिम सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई पठाएर रसूलहरूको श्रृंखला समाप्त गर्नुभयो। उहाँले सम्पूर्ण मानवजातिका लागि पूर्ण धर्म र शाश्वत शरिया ल्याउनुभयो, जुन पहिलेका कानूनहरूको पूरक र सार हो। यसले अघिल्ला शरीयतहरूलाई प्रतिस्थापन गर्यो। अल्लाहले यसको संरक्षण र कयामतको दिनसम्म स्थिरता र कायम रहने सुनिश्चित गर्नुभएको छ।
सम्पूर्ण रसूलहरूमा विश्वास नगरेसम्म कोही मुमिन (आस्तिक) हुन सक्दैन
अल्लाहले नै रसूलहरू पठाउनुभयो र आफ्ना सबै सृष्टिहरूलाई तिनीहरूको अनुसरण गर्न आदेश दिनुभयो। जसले यी दूतहरूमध्ये एकलाई पनि इन्कार गर्छ, मानौ उसले सबै दूतहरूलाई इन्कार गरेको हो। किनभने अल्लाहको वही (प्रकाशना) अस्वीकार गर्नु भन्दा ठूलो पाप अरू केही छैन। त्यसैले स्वर्गमा प्रवेश गर्नका लागि सबै दूतहरूमा विश्वास गर्नु आवश्यक छ।
तसर्थ, प्रत्येक व्यक्तिले अनिवार्य रूपमा अल्लाहमा, उहाँका सबै रसूलहरूमा र अन्तिम दिनमा विश्वास राख्नु पर्छ। यो केवल तब सम्भव छ जब उसले अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) मा विश्वास राखेर उहाँको अनुसरण गर्छ। अल्लाहले उहाँलाई अनन्त चमत्कारको रूपमा पवित्र कुरआनमार्फत समर्थन गर्नुभएको छ र यसको संरक्षण अल्लाहले संसारको अन्तिम दिनसम्म सुनिश्चित गर्नुभएको छ।
अल्लाहले पवित्र कुर्आनमा उल्लेख गर्नुभएको छ, जसले उहाँका दूतहरूमध्ये कुनै पनि दूतलाई इन्कार गर्छ, उसले अल्लाहलाई इन्कार गर्छ र उहाँको वही (प्रकाशना) लाई झुठो ठहराएको मानिन्छ। अल्लाहले भन्नुभएकोछ:
﴿إِنَّ ٱلَّذِينَ يَكۡفُرُونَ بِٱللَّهِ وَرُسُلِهِۦ وَيُرِيدُونَ أَن يُفَرِّقُواْ بَيۡنَ ٱللَّهِ وَرُسُلِهِۦ وَيَقُولُونَ نُؤۡمِنُ بِبَعۡضٖ وَنَكۡفُرُ بِبَعۡضٖ وَيُرِيدُونَ أَن يَتَّخِذُواْ بَيۡنَ ذَٰلِكَ سَبِيلًا ١٥٠ أُوْلَٰٓئِكَ هُمُ ٱلۡكَٰفِرُونَ حَقّٗاۚ وَأَعۡتَدۡنَا لِلۡكَٰفِرِينَ عَذَابٗا مُّهِينٗا151﴾
“जो व्यक्ति अल्लाह र उहाँका रसूलहरूलाई इन्कार गर्छन् र अल्लाह र उहाँका रसूलहरूबीच फरक पार्न चाहन्छन्, र भन्छन् ‘हामी केही रसूलहरूमा विश्वास गर्छौं र केहीमा विश्वास गर्दैनौं’ र उनीहरू त्यसबीचको मार्ग अपनाउन चाहन्छन्।
निश्चय नै उनीहरू काफिर हुन् र काफिरहरूका लागि हामीले अपमानजनक सजाय तयार पारिसकेका छौं।”
[अन्-निसा: १५०-१५१]
“यसकारण, हामी मुस्लिमहरू अल्लाहमा र अन्तिम दिनमा विश्वास गर्दछौं—जसरी अल्लाहले आज्ञा दिनुभएको छ—र हामी अघिल्ला सम्पूर्ण सन्देशवाहकहरू र तिनीहरूले ल्याएका पुस्तकहरूमा विश्वास राख्छौं। अल्लाहले भन्नुभएको छ:
﴿ءَامَنَ ٱلرَّسُولُ بِمَآ أُنزِلَ إِلَيۡهِ مِن رَّبِّهِۦ وَٱلۡمُؤۡمِنُونَۚ كُلٌّ ءَامَنَ بِٱللَّهِ وَمَلَٰٓئِكَتِهِۦ وَكُتُبِهِۦ وَرُسُلِهِۦ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّن رُّسُلِهِۦۚ وَقَالُواْ سَمِعۡنَا وَأَطَعۡنَاۖ غُفۡرَانَكَ رَبَّنَا وَإِلَيۡكَ ٱلۡمَصِيرُ285﴾
“रसूलले आफ्नो पालनकर्ताबाट उहाँतर्फ अवतरित कुरामा ईमान ल्याउनुभयो र मोमिनहरूले पनि। सबैले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू र उहाँका रसूलहरूमाथि ईमान ल्याए। हामी उहाँका कुनै पनि रसूलहरूबीच फरक गर्दैनौँ। उनीहरूले भने: ‘हामीले सुन्यौँ र आज्ञा पालन गर्यौँ। हे हाम्रो पालनकर्ता! हामी तपाईंसँग क्षमा माग्छौँ र तपाईंतिर नै हाम्रो गन्तव्य छ।” [अल्-बकरह: २८५]
पवित्र कुर्आन के हो?
पवित्र कुरआन अल्लाहको शब्द र वही हो, जुन उहाँले अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित गर्नुभयो। यो उहाँको नबुवतको सत्यता प्रमाणित गर्ने सबैभन्दा महान् चमत्कार हो। पवित्र कुरआनमा उल्लिखित सबै आदेश र सूचनाहरू पूर्ण रूपमा सत्य हुन्।
अल्लाहले कुर्आनलाई झुठो ठहर गर्नेहरूलाई कुर्आन जस्तै एउटा सूरह प्रस्तुत गर्न चुनौती दिनुभयो, तर तिनीहरू त्यसो गर्न असमर्थ भए; कुरआनको शैली, विषयवस्तु, समग्रता र मानिससँग सम्बन्धित जीवन तथा परलोकका विषयहरू अद्वितीय छन्। यसमा आस्थासँग सम्बन्धित ती सबै सत्यहरू समावेश छन्, जसमा अवश्य विश्वास गर्न आवश्यक छ।
त्यसैगरी, यसमा ती आदेश र निषेधहरू पनि समावेश छन्, जुन व्यक्तिले आफ्नो र आफ्नो पालनकर्ताबीच, आफ्नो र आफ्नो आत्माबीच वा आफ्नो र अन्य सृष्टिहरूबीच पालना गर्नुपर्छ। यी सबै कुरा उच्च शैली, प्रभावकारी ढङ्ग र स्पष्टतासहित प्रस्तुत गरिएको छ।
यसमा धेरै तार्किक प्रमाणहरू र वैज्ञानिक तथ्यहरू समावेश छन्, जसले संकेत गर्दछ कि यो पुस्तक मानिसहरूले सिर्जना गर्न सक्ने होइन, बरु यो मानवजातिको पालनकर्ताको वचन र शब्द हो।
इस्लाम भनेको के हो?
इस्लाम भन्नाले तौहीद (एकेश्वरवाद) को माध्यमबाट अल्लाहप्रति पूर्ण समर्पण गर्नु, उहाँको आज्ञाकारितामा आफूलाई नमन गर्नु, स्वेच्छा र खुशी साथ उहाँको शरिअतको पालन गर्नु र अल्लाह बाहेक पूजिने सबै कुरालाई अस्वीकार गर्नु हो।
अल्लाहले सम्पूर्ण दूतहरूलाई एउटै सन्देशका साथ पठाउनुभयो: केवल एक अल्लाहको उपासना गर्न, उहाँसँग कसैलाई साझेदार नराख्न र अल्लाह बाहेक पूजिने सबै कुरालाई अस्वीकार गर्न आह्वान गर्नु।
इस्लाम सम्पूर्ण नबी (दूत) हरूको धर्म हो। तिनीहरूको शरिअतहरू फरक–फरक भए पनि उनीहरूको आह्वान एउटै थियो। आजका मुस्लिमहरू नै ती हुन्, जो सबै नबीहरूले ल्याएको सत्य धर्ममा अडिग छन्। यस युगमा इस्लामको सन्देश नै सत्य हो र यो सम्पूर्ण मानवजातिका लागि सृष्टिकर्ताबाट आएको अन्तिम सन्देश हो।
त्यसैले, जस प्रभुले इब्राहीम, मूसा र ईसा (अलैहिमुस्सलाम) लाई पठाउनुभयो, उही प्रभुले अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई पनि पठाउनुभयो। इस्लामी शरिअतले अघिल्ला शरिअतहरूलाई रद्द (प्रतिस्थापन) गरेको छ।
आज मानिसहरूले पालन गरिरहेका इस्लाम बाहेकका सबै धर्महरू या त मानव-निर्मित हुन्, वा पहिले ईश्वरीय थिए तर पछि मानिसहरूको हस्तक्षेपले विकृत भई अन्धविश्वास, वंशानुगत किंवदन्तीहरू र मानवीय व्याख्याहरूको मिश्रण बनेका छन्।
जहाँसम्म मुस्लिमहरूको धर्मको सवाल छ, यो एक स्पष्ट धर्म हो, जसमा कुनै परिवर्तन हुँदैन। त्यसैगरी, उनीहरूले अल्लाहको उपासना गर्ने तरिका पनि एउटै छ। सबैले दिनमा पाँच पटक नमाज पढ्छन्, आफ्नो सम्पत्तिबाट जकात दिन्छन्, र रमजान महिनामा रोजा राख्छन्। तिनीहरूको संविधान हेर्नुहोस्—यो पवित्र कुरआन हो, जुन सबै देशहरूमा एउटै किताब हो। अल्लाहले भन्नुभएको छ:
﴿...ٱلۡيَوۡمَ أَكۡمَلۡتُ لَكُمۡ دِينَكُمۡ وَأَتۡمَمۡتُ عَلَيۡكُمۡ نِعۡمَتِي وَرَضِيتُ لَكُمُ ٱلۡإِسۡلَٰمَ دِينٗاۚ فَمَنِ ٱضۡطُرَّ فِي مَخۡمَصَةٍ غَيۡرَ مُتَجَانِفٖ لِّإِثۡمٖ فَإِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ﴾
“…आज मैले तपाईंहरूको धर्मलाई पूर्ण गरिदिएको छु, तपाईंमाथि आफ्नो कृपा पूरा गरेको छु र तपाईंहरूको लागि इस्लामलाई धर्मको रूपमा रोजेको छु। यदि कुनै व्यक्तिले अत्यन्त आवश्यकता परेको अवस्थामा, पापतर्फ नझुकी र अवज्ञा वा अतिक्रमण नगरी, जीवन जोगाउनका लागि निषेध गरिएका चीजहरू खाइहाल्छ भने, अल्लाह क्षमाशील र दयालु हुनुहुन्छ।” [सूरह माइदाः ३]
अल्लाहले कुर्आनमा भन्नुभएको छ:
﴿قُلۡ ءَامَنَّا بِٱللَّهِ وَمَآ أُنزِلَ عَلَيۡنَا وَمَآ أُنزِلَ عَلَىٰٓ إِبۡرَٰهِيمَ وَإِسۡمَٰعِيلَ وَإِسۡحَٰقَ وَيَعۡقُوبَ وَٱلۡأَسۡبَاطِ وَمَآ أُوتِيَ مُوسَىٰ وَعِيسَىٰ وَٱلنَّبِيُّونَ مِن رَّبِّهِمۡ لَا نُفَرِّقُ بَيۡنَ أَحَدٖ مِّنۡهُمۡ وَنَحۡنُ لَهُۥ مُسۡلِمُونَ ٨٤ وَمَن يَبۡتَغِ غَيۡرَ ٱلۡإِسۡلَٰمِ دِينٗا فَلَن يُقۡبَلَ مِنۡهُ وَهُوَ فِي ٱلۡأٓخِرَةِ مِنَ ٱلۡخَٰسِرِينَ85﴾
“भन: हामी अल्लाहमा ईमान ल्यायौं र त्यसमा पनि जुन हामीमाथि अवतरित गरिएको छ तथा जुन इब्राहीम, इस्माईल, इस्हाक, याकूब र उनका सन्तानहरू (असबात) माथि अवतरित गरिएको थियो; र जुन मूसा, ईसा र अन्य नबीहरूलाई उनीहरूको पालनकर्ताबाट दिइएको थियो। हामी तिनीहरूमध्ये कसैबीच पनि फरक गर्दैनौं र हामी उहाँकै आज्ञामा समर्पित (मुस्लिम) हौं।
जसले इस्लाम बाहेक अन्य कुनै धर्म रोज्छ, त्यो कहिल्यै स्वीकार गरिने छैन र ऊ आखिरतमा घाटा हुनेहरूमध्ये हुनेछ।”
[आले इमरान: ८४-८५]
इस्लाम एउटा पूर्ण जीवन व्यवस्था हो, जुन फितरत (प्राकृतिक स्वभाव) र बुद्धिसँग मेल खान्छ र स्वस्थ स्वभाव भएका मानिसहरूले यसलाई स्वीकार गर्छन्। महान् सृष्टिकर्ताले आफ्नो सृष्टिका लागि यसलाई विधान गर्नुभएको हो। यो धर्म सम्पूर्ण मानवजातिका लागि लोक र परलोक दुवैमा भलाइ र सुखको मार्ग हो। यसमा जाति वा रङ्गका आधारमा कुनै भेदभाव हुँदैन। सबै मानिसहरू यसमा बराबर छन् र इस्लाममा कसैको श्रेष्ठता अरूमाथि केवल उसको असल कर्मका आधारमा मात्र हुन्छ।
अल्लाहले भन्नुभएको छ:
﴿مَنۡ عَمِلَ صَٰلِحٗا مِّن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِنٞ فَلَنُحۡيِيَنَّهُۥ حَيَوٰةٗ طَيِّبَةٗۖ وَلَنَجۡزِيَنَّهُمۡ أَجۡرَهُم بِأَحۡسَنِ مَا كَانُواْ يَعۡمَلُونَ97﴾
“जो पुरुष वा महिला आस्थावान भएर असल कर्म गर्छ, हामी उसलाई अवश्य राम्रो जीवन दिनेछौँ र उनीहरूले गरेका कर्महरूको उत्तम प्रतिफल अवश्य दिनेछौँ।” [अन्नहलः ९७]
इस्लाम खुशीको मार्ग हो
इस्लाम सम्पूर्ण नबीहरूको धर्म हो। यो सम्पूर्ण मानवजातिका लागि अल्लाहको धर्म हो; यो कुनै व्यक्ति विशेष वा केवल अरबहरूको धर्म होइन।
इस्लाम यस संसारमा साँचो खुशीको मार्ग हो र परलोकमा स्थायी आनन्दको स्रोत हो।
इस्लाम एक मात्र धर्म हो, जसले आत्मा र शरीरको आवश्यकताहरू पूरा गर्छ र मानवका सम्पूर्ण समस्याहरूको समाधान दिन्छ। अल्लाहले भन्नुभएको छ:
﴿قَالَ ٱهۡبِطَا مِنۡهَا جَمِيعَۢاۖ بَعۡضُكُمۡ لِبَعۡضٍ عَدُوّٞۖ فَإِمَّا يَأۡتِيَنَّكُم مِّنِّي هُدٗى فَمَنِ ٱتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشۡقَىٰ 123 وَمَنۡ أَعۡرَضَ عَن ذِكۡرِي فَإِنَّ لَهُۥ مَعِيشَةٗ ضَنكٗا وَنَحۡشُرُهُۥ يَوۡمَ ٱلۡقِيَٰمَةِ أَعۡمَىٰ124﴾
“उहाँले भन्नुभयो: तिमी दुवै त्यस (स्वर्ग) बाट तल झर। तिमीहरू एक अर्काका शत्रु हौ। जब मेरो तर्फबाट मार्गदर्शन आउँछ, जो यस मार्गदर्शनको पालन गर्छ, ऊ कहिल्यै पथभ्रष्ट हुँदैन र कहिल्यै दुःखी हुँदैन।
जो मेरो स्मरण (अल्लाहको सम्झना) बाट विमुख हुन्छ, उसको जीवन दुःखपूर्ण हुनेछ र हामी त्यसलाई कयामतको दिन अन्धो रूपमा उठाउनेछौँ।” [ताहा: १२३-१२४]
मुस्लिमले यस संसार र परलोकमा के फाइदा पाउँछ?
इस्लामका धेरै फाइदाहरू छन्, जसमध्ये केही यस प्रकार छन्:
- यस संसारमा सफलता र सम्मान भनेको मानिस अल्लाहको सेवक हुनु हो, अन्यथा ऊ इच्छाहरू, शैतान र तृष्णाहरूको सेवक हो।
- परलोकमा सफलता भनेको अल्लाहले क्षमा गर्नु, आफ्नो प्रसन्नता प्रदान गर्नु र जन्नतमा प्रवेश गराउनु हो, जसबाट मानिसले सन्तोषका साथ अनन्त आनन्द प्राप्त गर्छ। साथै, यसले उसलाई नर्कको यातनाबाट पनि मुक्त गर्छ।
- आस्थावानहरू न्यायको दिन पैगम्बरहरू, सत्यवादीहरू, शहीदहरू र अल्लाहका धर्मपरायण सेवकहरूसँग रहनेछन्। कति अद्भुत संगत हो यो! जबकि अल्लाहमा विश्वास नगर्नेहरू अत्याचारी, दुष्ट, अपराधी र भ्रष्टहरूसँग रहनेछन्।
- अल्लाहले जसलाई स्वर्ग प्रदान गर्नुहुन्छ, तिनीहरू अनन्त सुखमा बस्नेछन्। त्यहाँ मृत्यु, रोग, पीडा, बुढ्यौली, दुःख वा चिन्ता हुने छैन। उहाँले तिनीहरूको हरेक इच्छा पूरा गर्नुहुनेछ। जबकि नर्कमा जानेहरूले कहिल्यै अन्त नहुने अनन्त पीडामा रहनेछन्।
- स्वर्गमा यस्ता अनौठा र अनुपम कुरा हुनेछन्, जसलाई न कुनै आँखाले देखेको छ, न कुनै कानले सुनेको छ र न कुनै मानव हृदयले कल्पना गर्न सक्दछ। प्रमाण स्वरूप, अल्लाहले भन्नुभएको छ:
﴿مَنۡ عَمِلَ صَٰلِحٗا مِّن ذَكَرٍ أَوۡ أُنثَىٰ وَهُوَ مُؤۡمِنٞ فَلَنُحۡيِيَنَّهُۥ حَيَوٰةٗ طَيِّبَةٗۖ وَلَنَجۡزِيَنَّهُمۡ أَجۡرَهُم بِأَحۡسَنِ مَا كَانُواْ يَعۡمَلُونَ97﴾
“जो पुरुष वा महिला आस्थावान भएर असल कर्म गर्छ, हामी उसलाई अवश्य राम्रो जीवन दिनेछौँ र उनीहरूले गरेका कर्महरूको उत्तम प्रतिफल अवश्य दिनेछौँ।” [अन्-नहल: ९७]
अल्लाह तआलाले भन्नुभएको छः
﴿فَلَا تَعۡلَمُ نَفۡسٞ مَّآ أُخۡفِيَ لَهُم مِّن قُرَّةِ أَعۡيُنٖ جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ17﴾
"कुनै पनि आत्मालाई थाहा छैन कि तिनीहरूको आँखाको आनन्दका लागि के तयारी गरिएको छ, जुन उनीहरूले गरेका असल कर्महरूको प्रतिफल स्वरूप हुनेछ।" [अस्-सजदा: १७]
गैर मुस्लिमले के गुमाउँछ?
मानिसले सबैभन्दा ठूलो ज्ञान र विश्वास गुमाउँछ, जुन अल्लाहको ज्ञान र उहाँको पहिचान हो। उसले अल्लाहमा विश्वास पनि गुमाउँछ, जसले मानिसलाई यस संसारमा सुरक्षा र शान्ति प्रदान गर्छ र परलोकमा अनन्त सुख र आशीर्वाद दिन्छ।
मानिसले अल्लाहले मानवजातिका लागि अवतरित गर्नुभएको सबैभन्दा महान् पुस्तकमा विश्वास र त्यसको अनुसरण गुमाउँछ।
उसले महान् नबीहरूमाथिको विश्वास गुमाउँछ र कयामतको दिन जन्नतमा उनीहरूको संगतबाट वञ्चित हुन्छ। बरु, ऊ जहन्नममा शैतानहरू, अपराधीहरू र तागूतहरूसँग रहनेछ—कति खराब स्थान र संगत!
अल्लाहले भन्नुभएको छ:
﴿قُلۡ إِنَّ ٱلۡخَٰسِرِينَ ٱلَّذِينَ خَسِرُوٓاْ أَنفُسَهُمۡ وَأَهۡلِيهِمۡ يَوۡمَ ٱلۡقِيَٰمَةِۗ أَلَا ذَٰلِكَ هُوَ ٱلۡخُسۡرَانُ ٱلۡمُبِينُ 15 لَهُم مِّن فَوۡقِهِمۡ ظُلَلٞ مِّنَ ٱلنَّارِ وَمِن تَحۡتِهِمۡ ظُلَلٞۚ ذَٰلِكَ يُخَوِّفُ ٱللَّهُ بِهِۦ عِبَادَهُۥۚ يَٰعِبَادِ فَٱتَّقُونِ16﴾
“भन: निश्चय नै घाटामा पर्नेहरू ती हुन्, जसले कयामतको दिन आफ्नै आत्मा र आफ्ना परिवारलाई घाटामा पारे। निस्सन्देह, यही नै स्पष्ट घाटा हो।
“तिनीहरूका लागि माथिबाट आगोका छानाजस्ता तहहरू हुनेछन् र तलबाट पनि त्यस्तै तहहरू हुनेछन्। यसरी अल्लाहले आफ्ना सेवकहरूलाई डराउनुहुन्छ। हे मेरा सेवकहरू! मसँग डर मान।” [अज्जुमर: १५-१६]
जसले परलोकमा मुक्ति चाहन्छ, उसले इस्लाम धर्म आत्मसात गर्नुपर्छ। अल्लाहको आज्ञापालक हुनुपर्छ र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पूर्ण अनुसरण गर्नुपर्छ।
सम्पूर्ण नबीहरू र रसूलहरूले एकमत भएर भन्नुभएको सत्य यही हो कि परलोकमा केवल ती मुस्लिमहरू मुक्ति पाउनेछन् जसले अल्लाहमा विश्वास गरे, उहाँको उपासनामा कसैलाई साझेदार बनाएनन् र सम्पूर्ण नबीहरूमा विश्वास राखे। त्यसैले, सबै दूतहरूको अनुसरण गर्ने र उनीहरूमा विश्वास गर्ने आस्थावान अनुयायीहरू जन्नतमा प्रवेश गर्नेछन् र नर्कबाट बच्नेछन्।
जो मूसा (अलैहिस्सलाम) को समयमा थिए र उहाँमा विश्वास गरे र उहाँका शिक्षाहरू अनुसरण गरे, उनीहरू साँचो मुस्लिम र आस्थावान थिए। तर जब अल्लाहले ईसा (अलैहिस्सलाम) पठाउनुभयो, त्यसपछि मूसा का अनुयायीहरूका लागि ईसामा विश्वास राख्नु र उहाँको अनुसरण गर्नु आवश्यक भयो।
त्यसैले, ईसा (अलैहिस्सलाम) मा विश्वास गर्ने व्यक्ति साँचो मुस्लिम हुन्। तर जसले ईसा (अलैहिस्सलाम) लाई अस्वीकार गरी मूसा (अलैहिस्सलाम) को धर्ममै अडिग रह्यो, तिनीहरू आस्थावान होइनन्; किनभने उनले अल्लाहले पठाएको नबीमा विश्वास गर्न अस्वीकार गरेका छन्।
त्यसपछि जब अल्लाहले अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई पठाउनुभयो, सबैको लागि उहाँमाथि विश्वास गर्नु अनिवार्य भयो। किनभने जसले मोशा र येशूलाई पठाउनुभयो, उहाँले नै अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई पनि पठाउनुभएको हो। त्यसैले, जो मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देशमा अविश्वास गर्छन् र भन्छन्, “म मोशा वा येशूको अनुयायी नै रहनेछु,” त्यो व्यक्ति साँचो आस्थावान मानिँदैन।
कुनै व्यक्तिले केवल मुस्लिमहरूलाई सम्मान गर्छु भन्नु पर्याप्त छैन, न त परलोकमा मुक्ति पाउनका लागि दान दिनु र गरिबहरूलाई सहयोग गर्नु पर्याप्त छ। बरु, उसले अल्लाहमा, उहाँका पुस्तकहरूमा, उहाँका सन्देशवाहकहरूमा र अन्तिम दिनमा विश्वास राख्नुपर्छ, ताकि अल्लाहले उसको सत्कर्म स्वीकार गर्न सकुन्। किनभने अल्लाह बाहेक अरू कुनै देवी–देवताको उपासना गर्नु, अल्लाहलाई अस्वीकार गर्नु, अल्लाहले अवतरित गरेको कुरआन अस्वीकार गर्नु वा उहाँका अन्तिम रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को दूतत्व (नुबुवत) अस्वीकार गर्नु भन्दा ठूलो पाप अरू केही छैन।
तसर्थ, ती यहूदी, ईसाई र अरू जसले अल्लाहका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) पैगम्बर हुनुहुन्छ भनेर सुने र उहाँमा विश्वास गर्न र इस्लाम धर्ममा प्रवेश गर्न अस्वीकार गरे, तिनीहरू नर्कको आगोमा पर्नेछन् र सधैंभरि त्यसैमा रहनेछन्। यो अल्लाहको फैसला हो, कुनै पनि मानवको होइन। अल्लाहले भन्नुभएको छ:
﴿إِنَّ ٱلَّذِينَ كَفَرُواْ مِنۡ أَهۡلِ ٱلۡكِتَٰبِ وَٱلۡمُشۡرِكِينَ فِي نَارِ جَهَنَّمَ خَٰلِدِينَ فِيهَآۚ أُوْلَٰٓئِكَ هُمۡ شَرُّ ٱلۡبَرِيَّةِ6﴾
“निश्चय नै यहूदी, ईसाई र मूर्तिपूजकहरूमध्ये जो अविश्वासी छन्, उनीहरू नर्कको आगोमा पर्नेछन् र सधैं त्यहाँ रहनेछन्। यिनै सबैभन्दा निकृष्ट सिर्जना हुन्।” [अल्-बय्यिना: ६]
अल्लाहले मानवताका लागि अन्तिम सन्देशको रूपमा इस्लाम अवतरित गर्नुभएको हुनाले, प्रत्येक मानिसले इस्लाम र अन्तिम पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देश सुन्नु, उहाँमा विश्वास गर्नु, उहाँको शरीयतको अनुसरण गर्नु र उहाँका आदेश तथा निषेधको पालना गर्नु अनिवार्य छ। त्यसैले, जो यस अन्तिम सन्देशको बारेमा सुन्छ तर यसलाई अस्वीकार गर्छ, अल्लाहले उसको कुनै पनि कर्म स्वीकार गर्नुहुने छैन र उसलाई परलोकमा दण्ड दिनुहुनेछ।
यसको प्रमाणका रूपमा अल्लाहले भन्नुभएको छ:
﴿وَمَن يَبۡتَغِ غَيۡرَ ٱلۡإِسۡلَٰمِ دِينٗا فَلَن يُقۡبَلَ مِنۡهُ وَهُوَ فِي ٱلۡأٓخِرَةِ مِنَ ٱلۡخَٰسِرِينَ85﴾
“जो इस्लाम बाहेक अरू कुनै धर्म खोज्छ, उसको कर्म कदापि स्वीकार गरिने छैन र ऊ परलोकमा घाटा भोग्नेहरूमध्ये हुनेछ।” [आले इम्रानः ८५]
अल्लाहले भन्नुभएको छ:
﴿قُلۡ يَٰٓأَهۡلَ ٱلۡكِتَٰبِ تَعَالَوۡاْ إِلَىٰ كَلِمَةٖ سَوَآءِۭ بَيۡنَنَا وَبَيۡنَكُمۡ أَلَّا نَعۡبُدَ إِلَّا ٱللَّهَ وَلَا نُشۡرِكَ بِهِۦ شَيۡـٔٗا وَلَا يَتَّخِذَ بَعۡضُنَا بَعۡضًا أَرۡبَابٗا مِّن دُونِ ٱللَّهِۚ فَإِن تَوَلَّوۡاْ فَقُولُواْ ٱشۡهَدُواْ بِأَنَّا مُسۡلِمُونَ64﴾
“भन्नुहोस्: हे अहले किताब! हामी र तपाईंहरूबीच एउटै समान कुरा स्वीकार गरौं—हामी अल्लाह बाहेक अरू कसैको उपासना गर्ने छैनौं, उहाँसँग अरू कसैलाई साझेदार मान्ने छैनौं र अल्लाह बाहेक एकअर्कालाई प्रभु मान्ने छैनौं। यदि उनीहरू विमुख हुन्छन् भने भन्नुहोस्: ‘साक्षी रहोस्, हामी मुस्लिम हौं।” [आले इम्रान: ६४]
मुस्लिमका लागि के अनिवार्य छ?
एक मुस्लिमले यी छ वटा स्तम्भहरूमा विश्वास गर्नु आवश्यक छ:
अल्लाहमाथि ईमान ल्याउनु; अल्लाह नै सम्पूर्ण ब्रह्माण्डका सृष्टिकर्ता र पालनकर्ता हुनुहुन्छ। उहाँ जस्ता कोही छैन, उहाँको पत्नी वा छोराछोरी छैनन्। केवल उहाँ नै उपासना योग्य हुनुहुन्छ र उहाँसँगै अरू कसैको पूजा गर्नु हुँदैन। साथै, उहाँ बाहेक अरू कुनै वस्तु वा व्यक्तिको पूजा अवैध (असत्य) हो भनेर विश्वास गर्नु।
फरिश्ताहरूमाथि ईमान ल्याउनु; उनीहरू अल्लाह तआला का सेवकहरू हुन्। उहाँले उनीहरूलाई प्रकाशबाट सिर्जना गर्नुभयो। उनीहरूको जिम्मेवारीमध्ये एउटा मुख्य काम नबी-रसूलहरूमा वही (प्रकाशना) पुर्याउनु हो।
अल्लाहले आफ्ना नबी-रसूलहरूलाई प्रदान गर्नुभएका सबै पुस्तकहरूमा ईमान ल्याउनु; जस्तै तौरात र इन्जिल (परिवर्तन हुनु अघि) र अन्तिम पुस्तक पवित्र कुरआनमा विश्वास गर्नु।
सम्पूर्ण दूतहरूमा ईमान ल्याउनु; जस्तै नूह, इब्राहीम, मूसा, ईसा र अन्तिम दूत मुहम्मद। ती सबै मानव थिए। अल्लाहले उनीहरूलाई वहीले समर्थन गर्नुभयो र प्रमाण तथा चमत्कारहरू प्रदान गर्नुभयो, जसले उनीहरूको सत्यता पुष्टि गर्छ।
अन्तिम दिनमा ईमान ल्याउनु; अल्लाहले पहिलेका र पछिका सबैलाई जीवित गर्नुहुनेछ। उहाँले आफ्ना सृष्टिहरूबीच न्याय गर्नुहुनेछ र आस्थावानहरूलाई स्वर्गमा र काफिरहरूलाई नर्कमा प्रवेश गराउनु हुनेछ।
तकदीर (भाग्य) मा ईमान ल्याउनु; विगतमा भएका र भविष्यमा हुने सबै कुराहरू अल्लाहलाई थाहा छ। अल्लाहले सबै कुरा जान्नुभयो, लेख्नुभयो, इच्छा गर्नुभयो र सबै कुरा सिर्जना गर्नुभयो।
अल्लाहलाई उहाँको निर्देशन अनुसार उपासना गर्नु; जस्तै नमाज, जकात, उपवास र सक्षम व्यक्तिले हज गर्नु। त्यसपछि आफ्नो धर्मको आधारभूत ज्ञान सिक्नुपर्नेछ, जुन यस संसारमा सुख र परलोकमा उद्धारको स्रोत हो।
***
विषयसूची
महान सृष्टिकर्ता 4
यो महान् सृष्टिकर्ता र पालनकर्ता अल्लाह नै हुनुहुन्छ। 5
सृष्टिकर्ताका गुणहरू 6
सत्य इश्वर (अल्लाह) आफ्ना सबै गुणहरूमा परिपूर्ण हुनुहुन्छ 8
महान् सृष्टिकर्ताले हामीलाई किन सृष्टि गर्नुभयो? उहाँ हामीबाट के चाहनुहुन्छ? 11
किन धेरै रसूल (दूत) हरू पठाइए? 15
सम्पूर्ण रसूलहरूमा विश्वास नगरेसम्म कोही मुमिन (आस्तिक) हुन सक्दैन 16
पवित्र कुर्आन के हो? 18
इस्लाम भनेको के हो? 19
इस्लाम खुशीको मार्ग हो 22
मुस्लिमले यस संसार र परलोकमा के फाइदा पाउँछ? 23
गैर मुस्लिमले के गुमाउँछ? 24
जसले परलोकमा मुक्ति चाहन्छ, उसले इस्लाम धर्म आत्मसात गर्नुपर्छ। अल्लाहको आज्ञापालक हुनुपर्छ र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पूर्ण अनुसरण गर्नुपर्छ। 25
मुस्लिमका लागि के अनिवार्य छ? 28
ne443v2.0 - 23/06/2026