इस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) (नेपाली)

इस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)

  • earth Language
    (नेपाली)
  • earth Author:
    اللجنة العلمية برئاسة الشؤون الدينية بالمسجد الحرام والمسجد النبوي
PHPWord

 

 

رَسُولُ الإِسْلَامِ مُحَمَّدٌ ﷺ

 

 

इस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)

 

 

 

اللَّجْنَةُ العِلْمِيَّةُ

بِرِئَاسَةِ الشُّؤُونِ الدِّينِيَّةِ بِالمَسْجِدِ الحَرَامِ وَالمَسْجِدِ النَّبَوِيِّ

 

मस्जिद हराम र मस्जिद नब्वीको धार्मिक मामिलाको अध्यक्षतामा

 

 

 

بِسْمِ اللهِ الرَّحمَنِ الرَّحِيمِ

इस्लाम धर्मको सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)

वैज्ञानिक समिति

अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु। यो इस्लामका रसूल; मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को संक्षिप्त विवरण हो, जसमा मैले उहाँको नाम, वंश, देश, विवाह, सन्देश, आह्वान, उहाँको नबुवत (दुतत्व) का प्रमाणहरू, विधिविधान र उहाँप्रति उहाँका विरोधीहरूको धारणा जस्ता विषयवस्तुलाई समेट्ने जमर्को गरेको छु।

१) उहाँको नाम, वंश र उहाँ जन्मिनु र हुर्किनुभएको शहर

इस्लामको रसूल (सन्देष्टा) को नाम: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हो। उहाँको बुवाको नाम अब्दुल्लाह र बाजेको नाम अब्दुल मुत्तलिब बिन हाशिम हो। उहाँ इब्राहीमको छोरा; इस्माइल (अलैहिमुस्सलाम) का सन्तति हुनुहुन्छ।

किनभने, अल्लाहको नबी इब्राहीम (अलैहिस्सलाम) ले आफ्नो श्रीमती हाजरा र छोरा (दूधेबालक); इस्माईललाई साथमा लिएर सिरिया (शाम) बाट मक्का आए र उनीहरूलाई अल्लाहको आदेशले मक्का (मरुभूमि) मा बसोबास गराए। जब छोरा ठूलो भयो तब नबी इब्राहीम (अलैहिस्सलाम) मक्का आए र बुवा छोरा दुवैजना मिलेर पवित्र घर; काबाको निर्माण गरे। त्यसपछि काबाको वरपर मानिसहरू धेरै संख्यामा बस्न थाले र यसरी मक्का अल्लाहको उपासना र हज गर्नेहरूको मुख्य गन्तव्य नै बन्यो। मानिसहरूले शताब्दीयौंसम्म इब्राहीम (अलैहिस्सलाम) को धर्म र विधिविधान अनुसार अल्लाहको उपासना गरिरहे।

त्यसपछि मानिसहरूले बाटो बिराए र अरबद्वीपको अवस्था पनि संसारको बाँकी भाग जस्तै भयो। यहाँ पनि मूर्तिपूजा, छोरी जन्मेपछि जिउँदै गाड्ने, महिला उत्पीडन, झूटो गवाही, मदिरा सेवन, अनैतिक कार्य, व्यभिचार, अनाथहरूको सम्पत्ति उपभोग गर्ने र व्याज लेनदेन इत्यादि सबै गलत कामहरू हुन थाले।

यस्तो नाजुक परिवेश र पापले भरिएको समाजमा इस्माइल (अलैहिस्सलाम) को वंशबाट इस्लामका रसूल मुहम्मद बिन अब्दुल्लाहको जन्म सन् ५७१ मा भएको थियो। उहाँको जन्म अघि नै उहाँको बुवा बितिसकेको थियो र ६ वर्षको हुँदा आमाको पनि मृत्यु भयो। उहाँको पालनपोषण र हेरचाहको जिम्मेवारी काका अबु तालिबले निर्वाह गरे। उहाँ अनाथ र गरिबीमा जीवन बिताउनुभयो र स्वयम् काम गरेर आफ्नो हातको कमाइ खानु हुन्थ्यो।

२) शुभ विवाह एक पवित्र स्त्रीसँग

उहाँले २५ वर्षको उमेरमा मक्काकी प्रतिष्ठित महिला खदीजा बिन्ते खुवैलिद सँग बिहे गर्नुभयो। खदीजाको कोखबाट दुईजना छोरा र चारजना छोरीहरू जन्मिए। उहाँका दुवै छोराहरू बाल्यकालमै बिते। उहाँ आफ्नी पत्नी र परिवारसँग अत्यन्तै दयालु र प्रेमपूर्ण व्यवहार गर्नुहुन्थ्यो, त्यसैले उहाँकी पत्नी खदिजाले उहाँलाई असाध्यै माया गर्थिन् अनि उहाँले पनि खदिजालाई त्यतिकै माया गर्नुहुन्थ्यो र उनको मृत्यु पछि पनि उनलाई धेरै वर्ष सम्म बिर्सनु भएन। खदीजाप्रतिको सम्मान, स्नेह र प्रेमलाई जीवित राख्न उहाँले भेडाबाख्रा वध गरेर उनका साथीहरूमाझ सम्मानस्वरूप बाँड्नुहुन्थ्यो।

३) वह्य (प्रकाशना) को आरम्भ

रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) जन्मदेखि नै उत्कृष्ट आचरण र महान चरित्रको धनी हुनुहुन्थ्यो। उहाँको जीवन सबैका लागि एउटा अतुलनीय उदाहरण थियो। उहाँ आफ्नो समुदायमा अमीन र सादिक (इमान्दार र सत्यवान्) को उपनामले प्रसिद्ध हुनुहुन्थ्यो। उहाँ आफ्नो समुदायको असल र महान कार्यहरूमा सहभागी हुनुहुन्थ्यो, तर उनीहरूले गर्ने मूर्तिपूजालाई घृणा गर्नुहुन्थ्यो र त्यसमा कहिल्यै भाग लिनुभएन।

जब उहाँ ४० वर्षको पुग्नुभयो तब अल्लाहले उहाँलाई आफ्नो अन्तिम रसूल (सन्देष्टा) रोज्नुभयो र त्यतिबेला उहाँ मक्कामा हुनुहुन्थ्यो। त्यसैले फरिश्ता (स्वर्गदूत) जिब्रील (अलैहिस्सलाम) कुरआनका केही प्रथम श्लोक (आयत) हरू लिएर उहाँकहाँ आए। सर्वप्रथम अवतरित आयातहरू यसप्रकार छन्:

﴿اقْرَأْ بِاسْمِ رَبِّكَ الَّذِي خَلَقَ 1 خَلَقَ الْإِنسَانَ مِنْ عَلَقٍ 2 اقْرَأْ وَرَبُّكَ الْأَكْرَمُ3 الَّذِي عَلَّمَ بِالْقَلَمِ 4 عَلَّمَ الْإِنسَانَ مَا لَمْ يَعْلَمْ 5

अर्थ: "आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्नुभयो।

जसले मानिसलाई रगतको थोपाबाट बनाउनु भयो।

पढ, र तिम्रो पालनकर्ता सबैभन्दा उदार हुनुहुन्छ।

जसले कलमको माध्यमबाट शिक्षा प्रदान भयो।

जसले मानिसलाई त्यो कुरा सिकाउनुभयो जुन उसलाई थाहा थिएन।"

[सूरतुल् अलकः १-५]

त्यसपछि उहाँ आफ्नी पत्नी खदिजा (रजियल्लाहु अन्हा) कहाँ आउनु भयो र उहाँको हृदय काँमिरहेको थियो अनि उहाँले घटेको घटनाबारे जानकारी दिनुभयो।

उनले आश्वस्त पार्दै आफ्ना काकाको छोरा वर्का बिन नौफल कहाँ लगिन्। जसले ईसाई धर्म परिवर्तन गरेका थिए र तोरात र इन्जिल पढेका थिए। खादिजाले उनलाई भनिन्: दाई, भतिजाको कुरा सुन्नुहोस्, उनले सोधे : भतिजो, तिमीले के देख्यौ? तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले देखेको कुरा उनलाई बताउनुभयो। वर्काले उहाँलाई भने:

(यो त्यही फरिश्ता (स्वर्गदूत) हो, जसलाई अल्लाहले मोशा (अलैहिस्सलाम) तर्फ पठाउनुभएको थियो। काश म त्यतिबेला जीवित भएको भए जब तिम्रो समुदायले तिमीलाई निष्कासित गर्नेछ। तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अचम्म मान्दै सोध्नुभयो: 'के उनीहरूले मलाई साँच्चिकै निष्कासित गर्नेछन्?' वर्काले भने: हो, जसले पनि यो सत्य संदेश ल्यायो ऊसँग शत्रुता नै गरियो। यदि म त्यो समयसम्म जीवित रहे भने, मैले सशक्त रूपमा तिम्रो समर्थन गर्नेछु।)

त्यसपछि मक्कामा, उहाँमाथि निरन्तर कुरआन अवतरित भयो। कुरआन अवतरित गर्ने जिम्मेवारी जिब्रील (अलैहिस्सलाम) ले अल्लाहको आदेश अनुसार पुरा गर्नु भयो। साथै उनी रिसालत (दूतत्व) को विवरण पनि पुर्याउनु हुन्थ्यो।

उहाँले आफ्नो समुदायलाई इस्लामतर्फ निरन्तर आह्वान गर्नु भयो, तर तिनीहरुले उहाँसँग झगडा गरे र उहाँको चर्को विरोध गरे। उनीहरूले इस्लामको यो आह्वानलाई त्याग्न पैसा र सत्ताको प्रस्तावसमेत राखे, तर उहाँले ती सबै प्रस्तावहरू अस्वीकार गर्नुभयो। विरोधीहरूले उहाँलाई पनि पहिलेका दूतहरूलाई भने झैं जादुगर, झूठो र धोकेबाज भनेर आरोप लगाउन थाले। तिनीहरूले उहाँलाई दमन गरे, उहाँको पावन शरीरमाथि आक्रमण गरे र उहाँका अनुयायीहरूलाई सताए।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मक्कामा निरन्तर इस्लामको प्रचारप्रसार गरीरहनु भयो। उहाँ हजका अवसरमा आउने भक्तजनहरू र अरबको मौसमी बजारहरूमा गएर मानिसहरूलाई इस्लामतर्फ आह्वान गर्नुहुन्थ्यो। उहाँले कसैलाई नत सांसारिक सम्पत्ति वा सत्ताले प्रलोभित पार्नुभयो नत तरवारले डराउनु भयो, किनभने उहाँसंग नत राज्यसत्ता थियो नत राजगद्दी नै। उहाँले प्रारम्भिक प्रचारको समयमै विरोधीहरूलाई चुनौती दिनुभयो, सक्छौ भने कुरआन जस्तो वाणी ल्याएर देखाऊ र उहाँले विरोधीहरूलाई निरन्तर रूपमा चुनौती दिइरहनुभयो, तर कसैले पनि चुनौती पुरा गर्न सकेन। फलस्वरूप, केही भाग्यमानी व्यक्तिहरूले इस्लाम स्वीकार गरे।

अल्लाहले मक्कामा नै उहाँलाई अति विशाल चमत्कार; इस्रा र मेराज (रातारात बैतुल मुकद्दससम्मको यात्रा र त्यसपछि आकाशको भ्रमण र मक्का फिर्ता) द्वारा सम्मानित गर्नुभयो। अल्लाहले आफ्नो सन्देष्टा; इलयास र मसीह (एशु) लाई पनि आकाश तिर उठाउनुभएको कुरा सबैलाई सर्वविदितै छ। किनभने यो कुरो मुस्लिम र ईसाईहरूको किताबमा उल्लेख छ।

त्यही मेराज (आकाश भ्रमण) को क्रममा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहबाट "सलाह" (नमाज) कायम गर्ने आदेश प्राप्त गर्नुभयो। यो त्यही "सलाह" हो, जुन मुस्लिमहरूले दिनरातमा पाँच पटक पढ्ने गर्छन्। साथै, मक्का अल-मुकरमाहमा उहाँलाई प्राप्त भएको अर्को ठूलो चमत्कार भनेको चन्द्रमा दुई टुक्रामा विभाजित भएको घटना हो, जसलाई मक्काका मुश्रिक (बहुदेववादी) हरूले पनि देखेका थिए।

कुरैशका काफिरहरूले मानिसहरूलाई उहाँबाट रोक्न र टाढा राख्न सकेसम्म सबै षड्यन्त्र गरे। अभद्र तरिकाले चमतकारहरू देखाउन जिद्दी गरे। उनीहरूले उहाँ विरुद्ध (झुटो) तर्कहरू खोज्न, बहस गर्न र मानिसहरूलाई उहाँबाट टाढा राख्न यहूदीहरूको सहयोग लिए।

कुरैशका काफिरहरूले दिएको पीडा र यातना सहन नसकेपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरूलाई 'हबशह' तर्फ हिजरत (बसाइँ सर्न) गर्न अनुमति दिनुभयो। उहाँले भन्नुभयो: "त्यहाँ एक न्यायी राजा छ जसको राज्यमा कसैलाई अन्याय हुँदैन।" उनी एक ईसाई राजा थिए। त्यसैले मुस्लिमहरूको दुई समूहले 'हबशह' (इथियोपिया) तर्फ हिजरत गरे। मोहाजिर (प्रवासी) हरूले 'हबशह' पुगेपछि राजा नज्जाशी सामु नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याएको धर्म प्रस्तुत गरे। उनले इस्लाम स्वीकार गरे र भने: "यो त्यही धर्म हो, जुन मूसा (अलैहिस्सलाम) ले ल्याएका थिए; यी दुवै एउटै स्रोतबाट ल्याइएको हो।" तैपनि उहाँको समुदायले उहाँ र उहाँका साथीहरूलाई निरन्तर दुःख र यातना दिइरहे।

त्यस समयमा इस्लाम स्वीकार गर्नेहरूमध्ये केही मदीनाबाट आएका थिए र यदि उहाँ उनीहरुको शहरमा आउनुभयो भने उनीहरूले सहयोग गर्नेछन् र इस्लामको समर्थन गर्नेछन् भनेर वाचा गरेका थिए। त्यतिबेला मदीनालाई यथ्रिब भनिन्थ्यो। उहाँले मक्का मा बाँकी रहेका मुस्लिमहरुलाई मदिनातर्फ हिजरत गर्न (बसाइँ सर्ने) अनुमति दिनुभयो, त्यसैले तिनीहरू त्यहाँ हिजरत गरे र मदीनामा सर्वत्र इस्लाम फैलियो र इस्लाम ग्रहण गर्नेहरूको ओइरो नै लाग्यो।

मक्काबासीहरूको दुःख-पीडा सहेर पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले १३ वर्षसम्म तिनीहरूलाई इस्लामको आह्वान गर्नु भयो। त्यसपछि अल्लाहले उहाँलाई हिजरतको अनुमति दिएपछि उहाँले मदीनातर्फ प्रवास (हिजरत) गर्नुभयो। मदीनामा पनि उहाँले आफ्नो प्रचारप्रसारलाई निरन्तरता दिँदै, आफ्नो दायित्व र जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गर्नुभयो। इस्लामका नियमहरू क्रमशः अवतरण हुँदै गए र उहाँले विभिन्न राजा तथा आदिवासी प्रमुखहरूलाई आफ्ना दूतहरूद्वारा इस्लामको निमन्त्रणा पठाउनुभयो। उहाँले पठाएकाहरूमध्ये रोमका राजा, फारसका राजा र इजिप्टका राजा थिए।

मदीनामा सूर्य ग्रहण लाग्यो र मानिसहरू चिन्तित भए। त्यही दिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) को छोरा इब्राहीमको मृत्यु भएकोले मानिसहरूले भने: इब्राहीमको मृत्युको कारणले सूर्यग्रहण लागेको हो। यसलाई खण्डन गर्दै नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

(إِنَّ الشَّمْسَ وَالْقَمَرَ لَا يَكْسِفَانِ لِمَوْتِ أَحَدٍ، وَلَا لِحَيَاتِهِ، وَلَكِنَّهُمَا مِنْ آيَاتِ اللهِ يُخَوِّفُ اللهُ بِهِمَا عِبَادَهُ).

अर्थ: "सूर्य र चन्द्रमा कसैको मृत्यु वा जीवनको कारणले ग्रहण लाग्दैन, तर तिनीहरू अल्लाहका निशानीहरू हुन्, जसद्वारा अल्लाहले आफ्ना सेवकहरूलाई डराउनु हुन्छ।"1

यदि नबी (सल्लल्लाहु अलैहि वसल्लम) झूटा, अवसरवादी र कपटी भएको भए उहाँले यो मौका छोपेर मानिसहरूलाई आफूमा आस्था राख्न यो भन्नुहुन्थ्यो, "मेरो छोराको मृत्युको कारणले सूर्यग्रहण लागेको हो भने मलाई अविश्वास गर्नेहरूको अवस्था के हुन्छ?"

अल्लाहले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई असल व्यक्ति र उत्कृष्ट चरित्रको धनी घोषित गर्दै भन्नुभएको छ:

﴿وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ 4

अर्थ: "हे नबी! साँच्चै, तपाईं एक महान नैतिक चरित्रको हुनुहुन्छ।"

[सूरत अल-कलम: 4]

उहाँमा सत्यता, इमानदारी, साहस, न्याय, वफादारी र आफ्ना विरोधीहरूसँग पनि न्याय गर्ने जस्ता हरेक असल गुणहरू थिए। उहाँ अत्यन्त उदार हुनुहुन्थ्यो, गरिब, दु:खी, विधवा र असहायहरूलाई दान गर्न मन पराउनुहुन्थ्यो। उहाँ तिनीहरूलाई मार्गदर्शन गर्न उत्सुक हुनुहुन्थ्यो। उहाँमा तिनीहरूप्रति दया र नम्रता जस्ता असल गुणहरू थिए। उहाँ आफ्ना साथीहरूसँग मिलेर बस्नु हुन्थ्यो। त्यसैले कुनै अपरिचित व्यक्ति उहाँलाई खोज्दै आउँथ्यो र तिनीहरूको बीचमा हुँदा उहाँलाई चिन्न गाह्रो हुन्थ्यो र सोध्नु पर्थ्यो : तिमीहरूमध्ये मुहम्मद को हो?

उहाँको जीवन शत्रु र मित्र, नजिक र टाढा, ठूलो र सानो, पुरुष र महिला, पशु र चरा सबैसँगको पूर्णता र कुलीनताको नमुना थियो।

जब अल्लाहले इस्लाम धर्मलाई परिपूर्ण गर्नुभयो र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दूतत्व र सुम्पिएको जिम्मेवारीलाई राम्रोसंग पुर्याउनु भयो। तब ६३ वर्षको उमेरमा उहाँको निधन भयो। जसमध्ये ४० वर्ष नबी हुनुभन्दा पहिले र २३ वर्ष रसूल (सन्देष्टा) को रूपमा बिताउनु भयो।

उहाँलाई मदीना मा दफन (अन्त्येष्टि) गरियो। उहाँले सवारीको रूपमा प्रयोग गर्ने एउटा सेतो खच्चर बाहेक अरू कुनै धनसम्पत्ति छोड्नुभएन। एउटा सानो जग्गा थियो त्यसलाई पनि यात्रुहरूका लागि दान स्वरूप दिनुभयो।2

इस्लाम धर्म अपनाउने, उहाँमा विश्वास गर्ने र उहाँलाई अनुसरण गर्नेहरूको संख्या धेरै ठूलो थियो। हाँसँग हज गर्नेहरूको संख्या एक लाखभन्दा बढी थियो, जुन उहाँको मृत्यु हुनुभन्दा लगभग तीन महिना अघि भएको थियो। सम्भवतः यो उहाँको धर्मको संरक्षण र सर्वत्र फैलिने रहस्यहरू मध्ये एक हो। इस्लामको मूल्यमान्यता र सिद्धान्तहरूमा हुर्किएका उहाँका साथीहरू न्याय, तपस्या, धार्मिकता, वफादारी र उनीहरूले विश्वास गर्ने यो महान धर्मप्रति समर्पणको हिसाबले सबैभन्दा राम्रा साथीहरूमध्ये थिए।

उहाँका साथीहरूमध्ये ईमान, ज्ञान, कर्म, इमानदारी, विश्वास, उदारता, साहस र कुलीनतामा सबैभन्दा महान : अबू बकर सिद्दिक, उमर बिन खत्ताब, उसमान बिन अफ्फान र अली बिन अबी तालिब (रजियल्लाहु अन्हुम्) थिए। तिनीहरू उहाँमामा विश्वास गर्ने र उहाँको सन्देश स्वीकार गर्ने पहिलो व्यक्तिहरूमध्ये थिए। उनीहरूले उहाँका खलीफा (उत्तराधिकारी) बन्न सौभाग्य प्राप्त गरे। उहाँपछि उनीहरूले नै धर्मको झण्डा बोकेर अघि बढे, तर तिनीहरूमा नत "नबुवत" (दुतत्व) को कुनै विशेषता थियो, नत उहाँले उनीहरूलाई त्यस्तो कुनै विशेष कुरा दिनुभयो जुन उहाँले आफ्ना बाँकी सहाबा (रजियल्लाहु अन्हुम) हरूलाई दिनुभएन।

अल्लाहले उहाँलाई प्रदान गर्नुभएको धर्म ग्रन्थ; (कुरआन), उहाँको सुन्नत, उहाँको जीवनी, उहाँका भनाइहरू र उहाँका कर्महरूलाई उहाँले बोल्नुभएको भाषामा सुरक्षित राख्नुभएको छ। इतिहासमा कुनै पनि नेताको जीवनीलाई यसरी सुरक्षित गरिएको छैन जसरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को जीवनीलाई सुरक्षित गरिएको छ। बरु, उहाँ कसरी सुत्नुहुन्थ्यो, कसरी खानुहुन्थ्यो, कसरी पिउनुहुन्थ्यो र कसरी हाँस्नुहुन्थ्यो सबै कुराहरू सुरक्षित गरिएका छन्।

उहाँ आफ्नो घरपरिवारसँग कस्तो व्यवहार गर्नुहुन्थ्यो?

उहाँका सम्पूर्ण दिनचर्या र क्रियाकलापहरू उहाँको जीवनीमा सुरक्षित गरिएका छन्। उहाँ मानव हुनुहुन्थ्यो र साथै अल्लाहको दूत पनि, तर उहाँमा ईश्वरमा पाइने विशेषता उहाँमा छैन। उहाँसँग आफ्नो फाइदा वा हानि गर्ने कुनै अधिकार छैन।

४- उहाँको सन्देश

जब पृथ्वीमा चारैतिर बहुदेववाद, अन्धकार, अन्धविश्वास, रुढीवादी र अज्ञानता फैलिएका थिए र केही अहले किताब बाहेक सम्पूर्ण मानव शिर्कको दलदलमा फसेका थिए। तब अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्पूर्ण सन्देष्टा (नबी-रसूल) हरूका समापक र विश्वव्यापी दूत बनाएर पठाउनु भयो। अल्लाहले उहाँलाई मार्गदर्शन र सत्य धर्मका साथ सारा संसारबासीका लागि पठाउनुभयो; ताकि अल्लाहले उहाँलाई सम्पूर्ण धर्महरूमाथि विजयी बनाउन् र उहाँले मानिसहरूलाई सृष्टिपूजा, मूर्तिपूजा, अन्धविश्वास र अज्ञानताको अन्धकारबाट एकेश्वरवाद र ईमानको प्रकाशमा ल्याउन। उहाँको सन्देश अघिल्ला सम्पूर्ण सन्देष्टा (नबी-रसूल) हरूको सन्देशको सार र पूरक हो।

 

उहाँले पनि नूह, इब्राहीम, मोशा, सुलैमान, दाऊद र ईसा (येशु) लगायत सम्पूर्ण सन्देष्टाहरूले आह्वान गरे जस्तै सत्य आह्वान गर्नुभयो; अल्लाह नै सृष्टिकर्ता, पालनकर्ती, अन्नदाता, जीवनदाता, मृत्युदाता, सम्पूर्ण संसारका मालिक, सम्पूर्ण कुराहरूका प्रबन्धक र अत्यन्तै दयालु र कृपालु हुनुहुन्छ। अल्लाह नै सम्पूर्ण ब्रह्माण्डका दृश्य र अदृश्य सबै चीजहरूका सृष्टिकर्ता हुनुहुन्छ र अल्लाहबाहेक सबै कुरा उहाँको सृष्टि हो भनेर आस्था राख्नु।

त्यसैगरी उहाँले एकेश्वरवाद अर्थात केवल एक अल्लाहको उपासना गर्न र अरूको पूजा त्याग्न स्पष्ट आह्वान गर्नुभयो। अल्लाह एक हुनुहुन्छ र उहाँको उपासना, राज्यसत्ता, सृष्टि वा व्यवस्थापनमा कोही साझेदार छैन भन्ने कुरालाई स्पष्ट पार्नुभयो। उहाँको महिमा अपार छ, उहाँ न त जन्मिनुभएको हो न कोहि उहाँबाट जन्मिएको हो, उहाँको साझेदार र प्रतिद्वन्द्वी कोही छैन र उहाँ आफ्नो सृष्टिमध्ये कसैमा अवतार लिनु हुन्न न उहाँ मानवको चोलामा समाहित हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट पार्नुभयो।

उहाँले इब्राहीम र मोशाका धर्मशास्त्रहरू, तोरात, जबुर र इन्जील जस्ता ईश्वरीय पुस्तकहरूमा विश्वास गर्न आह्वान गर्नुभयो। त्यसैगरी उहाँले सम्पूर्ण सन्देष्टाहरूमाथि ईमान ल्याउन आह्वान गर्नुभयो र एउटा सन्देष्टालाई अस्वीकार गर्नु वा नमान्नु भनेको समस्त सन्देष्टाहरूलाई अस्वीकार गर्नु हो भनेर उहाँले तालिम दिनुभयो।

उहाँले समस्त मानवजातिलाई अल्लाहको दया र कृपाको शुभसन्देश दिनुभयो। यस संसारमा मानिसहरूको जीविकोपार्जनका लागि उहाँ स्वयं पर्याप्त हुनुहुन्छ। उहाँ दयालु र कृपालु प्रभु हुनुहुन्छ। कयामतको दिनमा उहाँले नै सम्पूर्ण प्राणीहरूका बीच न्याय गर्नुहुनेछ, जब उहाँले तिनीहरूलाई तिनीहरूको चिहानबाट पुनर्जीवित गर्नुहुनेछ। उहाँले आस्थावानहरूलाई तिनीहरूको असल कर्मका लागि दश गुणासम्मको प्रतिफल र खराब कर्महरूका लागि तिनको बराबरको दण्ड दिनुहुनेछ। तिनीहरूले परलोकमा अनन्त सुख र शान्तिको आनन्द प्राप्त गर्नेछन्। तर जो अल्लाहलाई अस्वीकार गर्छन् र नराम्रो कर्म गर्छन्, तिनीहरूले यस संसार र परलोक दुवैमा दण्ड भोग्नेछन्।

रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो सन्देशमा आफ्नो कुल, आफ्नो देश वा आफ्नो महान व्यक्तित्वको महिमा कहिल्यै गर्नुभएन। बरु, कुरआनमा नूह, इब्राहीम, मोशा र ईसा (अलैहिमुस्सलाम) जस्ता नबीहरूका नामहरू उहाँको नामभन्दा बढी उल्लेख गरिएको छ। उहाँकी आमा वा पत्नीहरूको नाम कुरआनमा उल्लेख गरिएको छैन, तर मोशा (अलैहिस्सलाम) की आमाको नाम एकभन्दा बढी स्थानमा र मरियम (अलैहास्सलाम) को नाम ३५ पटक उल्लेख गरिएको छ।

रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) शरिया, तर्क, प्राकृतिक स्वभाव र नैतिकता विपरीत हुने सबै कुराहरूबाट "मासूम" (पवित्र) हुनुहुन्छ। किनभने सन्देष्टाहरू अल्लाहको सन्देशलाई पुर्याउने कुरामा हरेक प्रकारको त्रुटिबाट मुक्त र पवित्र रहनुहुन्छ। किनभने उहाँहरूलाई मानवसम्म अल्लाहका आदेशहरू पुर्याउने विशेष जिम्मेवारी सुम्पिएको हुन्छ। अल्लाहका सन्देष्टाहरूमा ईश्वरत्व वा प्रभुत्वको कुनै पनि विशेषता हुँदैन; बरु, तिनीहरू अन्य मानव जस्तै मानव हुन् जसलाई अल्लाहले आफ्नो सन्देश पुऱ्याउन निमित्त मनोनीत गर्नुभएको हुन्छ।

रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देश अल्लाहबाट आएको वह्य (प्रकाशना) हो भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण के हो भने यो आजसम्म पनि उहाँको जीवनकालमा जस्तै यथावत रुपमा बाँकी छ। एक अरब भन्दा बढी मुस्लिमहरू उहाँको अनुसरण गर्छन् र नमाज, जकात, रोजा, हज जस्ता इस्लामका अनिवार्य र धार्मिक कर्तव्यहरूलाई परिवर्तन वा विकृति बिना पालन गर्छन्।

५) उहाँको दूतत्वका निशानी र प्रमाणहरू

अल्लाहले आफ्ना रसूलहरूलाई उनीहरूको सत्यता र दूतत्वलाई प्रमाणित र स्थापित गर्नका लागि विभिन्न किसिमका निशानी, अदभुत घटना, तर्क-वितर्क तथा चमत्कारहरूद्वारा समर्थन गर्नुहुन्छ। अल्लाहले प्रत्येक सन्देष्टालाई केही बिशेष चमत्कारहरू प्रदान गर्नुभयो, जसको आधारमा मानवजातिले उहाँमा विश्वास गर्न सकोस्। रसूलहरूलाई दिइएको निशानी र चमत्कारहरूमध्ये सबैभन्दा ठूलो चमत्कार हाम्रा रसुल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) का हुन्। अल्लाहले उहाँलाई पवित्र ग्रन्थ कुरआन दिनुभयो, जुन् कयामतको दिन सम्म बाँकी रहने छ। सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) का केही चमत्कारहरू यस प्रकार छन्ः

"इस्रा र मेअराज" (बैतुल्मक्दिश र आकाशको रात्रि भ्रमण), चन्द्रमा दुई टुक्रामा विभाजित हुनु र खडेरी परेको बेला मानिसहरूको पानीको आवश्यकता पूरा गर्न उहाँको प्रार्थनापछि धेरै पटक वर्षा हुनु।

थोरै मात्रामा रहेको खाना र पानीद्वारा धेरै मानिसहरूले पेटभरि खानु र पिउनु।

विगतमा घटेका कुराहरूको बारेमा जानकारी दिनु, जसको जानकारी कसैलाई पनि थिएन, जुन अल्लाहले उहाँलाई जानकारी गराउनु भयो, जस्तै नबीहरूका कथाहरू र (अस्-हाबुल-कहफ) गुफाका साथीहरूको कथा।

त्यसैगरी भविष्यका अदृश्य घटनाहरूको बारेमा जानकारी गराउनु, जुन पछि सत्य प्रमाणित भयो, जस्तैः "हिजाज" को भूमिबाट आगो निस्केको खबर जसलाई सिरियाका मानिसहरूले आफ्नै आँखाले देखे र अग्लो संरचनाहरू निर्माण गर्न मानिसहरूको प्रतिस्पर्धा।

अल्लाह उहाँको लागि पर्याप्त हुनुहुन्छ र मानिसहरूबाट बचाउनुहुन्छ।

उहाँले आफ्ना साथीहरूलाई गरेका प्रतिज्ञाहरू पूरा हुनु, जस्तै:

(لَتُفْتَحَنَّ عَلَيْكُمْ فَارِسُ وَالرُّومُ، وَلَتُنْفَقَنَّ كُنُوزَهُمَا فِي سَبِيلِ اللَّهِ).

अर्थ: "तिमीहरूले फारस र रोममाथि विजय प्राप्त गर्नेछाै र उनीहरूका खजानालाई अल्लाहको मार्गमा खर्च गर्नेछाै।"

अल्लाहले स्वर्गदूतहरूद्वारा उहाँको सहयोग गर्नु।

अघिल्ला सन्देष्टाहरूले आ आफ्नो समुदायलाई रसूल मुहम्मदको भविष्यवाणीको शुभ समाचार दिए, शुभ समाचार दिनेहरूमा: मोशा, दाऊद, सुलेमान, ईसा (येशू) र बनि इस्राईलका अन्य नबीहरू थिए।

तार्किक प्रमाण र स्थापित उदाहरणहरू, जसलाई साँचो मनले स्वीकार गर्छ।3

यस्ता आयात, प्रमाण र तार्किक उदाहरणहरू पवित्र कुरआन र पैगम्बरको सुन्नतमा प्रशस्त छन्, जसलाई गन्न सकिदैन। विस्तृत जानकारीका लागि पवित्र कुरआन, हदीस र रसूलको जीवनीका पुस्तकहरूको अध्ययन गर्नुहोस्, किनकि त्यसमा यी तर्कहरूबारेको बारेमा निश्चित जानकारी छ।

यदि यी ठूला चिन्हहरू नभएको भए, कुरैशका काफिरहरू र अरब द्वीपमा रहेका यहूदी र ईसाईहरूमध्ये उहाँका विरोधीहरूले उहाँलाई झुटो साबित गर्न र मानिसहरूलाई उहाँ विरुद्ध चेतावनी दिन मौका पाउने थिए।

पवित्र कुरआन त्यो महान ग्रन्थ हो, जुन सर्वशक्तिमान अल्लाहले आफ्नो सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि प्रकाशना (वही) मार्फत अवतरित गर्नुभयो। यो सम्पूर्ण सृष्टिका पालनकर्ताको वाणी हो। अल्लाहले सम्पूर्ण मानवजाति र जिन्न (अदृश्य प्राणी) लाई पवित्र कुरआन जस्तै अर्को ग्रन्थ वा यसका कुनै एक "सूरह" (अध्याय) जस्तो सिर्जना गर्न चुनौती दिनुभयो र यो चुनौती आजसम्म यथावत छ। कुरआनले लाखौं मानिसहरूलाई अकमक्क पार्ने महत्त्वपूर्ण प्रश्नहरूको ठोस र सटिक जवाफ दिन्छ। यो महान ग्रन्थ आजसम्म पनि त्यसै अरबी भाषामा सुरक्षित छ, जुन भाषामा यो अवतरित भएको थियो। यसका एक अक्षरमा पनि परिवर्तन वा थपघट भएको छैन र यो संसारभरिका विभिन्न भाषाहरूमा अनुवाद भइसकेको छ, जसले गर्दा संसारभरका मानिसहरूको पहुँचमा छ। मानवजातिको लागि यो एक चमत्कारी र महान पुस्तक हो। यो अध्ययन योग्य छ वा यसको अर्थको अनुवाद पढ्न योग्य छ। जसले यसलाई अध्ययन गरेन वा यसमा विश्वास गरेन, ऊ सबै भलाइबाट वञ्चित हुनेछ।

त्यसैगरी, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत, उहाँको मार्गदर्शन र जीवनी विश्वसनीय कथावाचकहरूको श्रृंखला मार्फत अरबी भाषामा सुरक्षित र प्रसारित छन्। उहाँको जीवनी अरबी भाषामा छापिएका छन् जसमा पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले बोल्नुभएको थियो, मानौं उहाँ हामी माझ हुनुहुन्छ र धेरै भाषाहरूमा अनुवाद गरिएको छ। पवित्र कुरआन र पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत इस्लामी नियम र कानूनको एकमात्र स्रोत हुन्।

६) मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा ल्याइएको शरिया

मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा ल्याइएको शरिया नै इस्लाम हो। यो सम्पूर्ण ईश्वरीय कानून र ईश्वरीय सन्देशहरूको समापक हो। यसका आधारभूत सिद्धान्तहरू अघिल्ला सन्देष्टाहरूको कानूनसँग मिल्दोजुल्दो छ, यद्यपि यसका विधिहरू फरक छन्।

यो परिपूर्ण शरिया (विधान) हो, जुन हरेक युग र स्थानका लागि एकदमै उपयुक्त छ। यसमा मानिसहरूको धार्मिक र सांसारिक कल्याणको मार्गदर्शन छ। यसमा सलाह (नमाज), जकात जस्ता सबै उपासनाहरू समावेश गरिएको छ। यसले आर्थिक, सामाजिक, राजनीतिक, सैन्य, वातावरणीय र मानिसहरूको जीवन र मृत्युपछिको जीवनमा आवश्यक पर्ने कुराहरू स्पष्ट रूपमा निर्धारण गरिएको छ।

यो शरिया (विधान) ले मानिसहरूको धर्म, जीवन, मर्यादा, इज्जत, धनसम्पत्ति, बुद्धि र सन्तानको रक्षा गर्छ। यसले हरेक सद्गुण र भलाइलाई समेटेको छ र हरेक पाप तथा दुष्कर्म विरुद्ध चेतावनी दिन्छ। यसले मानवीय गरिमा, संयम, न्याय, इमानदारी, स्वच्छता, परिपूर्णता, मानवजाति प्रति सच्चा प्रेम र मातृभूमिको सुरक्षा गर्न आह्वान गर्छ। यसले अमानवीय क्रियाकलाप र अन्यायपूर्ण रूपमा मानिसहरूलाई आतंकित गर्ने वा धम्की दिने निषेध गर्छ। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सबै प्रकारका अत्याचार, भ्रष्टाचार र अन्धविश्वास विरुद्ध संघर्ष गर्नुभयो।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले पुरुष र महिला दुबैलाई सम्मानित गर्नुभएको छ। मानवका सबै हकअधिकारहरूलाई सुरक्षित गरेको छ। मानवलाई आफ्ना सबै क्रियाकलाप र व्यवहारप्रति जिम्मेवार बनाएको छ। आफूलाई वा अरूलाई हानि पुऱ्याउने कुनै पनि कार्यको लागि जवाफदेही बनाएको छ। आस्था, जिम्मेवारी, पुण्य र पापको हिसाबले पुरुष र महिलालाई समान दर्जा दिएको छ। यस शरियाले आमा, पत्नी, छोरी र दिदीबहिनीको रूपमा महिलालाई विशेष ध्यान दिएको छ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको शरियाले दिमागलाई जोगाउने र यसलाई भ्रष्ट पार्ने सबै कुरालाई निषेध गरेको छ, जस्तै रक्सी पिउनु। इस्लामले धर्मलाई एउटा प्रकाशको रूपमा लिन्छ, जसले विवेकलाई उज्यालो पार्छ, ताकि मानिसले ज्ञान र पूर्ण विश्वासका साथ आफ्नो पालनकर्ताको उपासना गर्न सकोस्। शरियाले विवेकलाई सम्मान गर्छ र यसलाई दायित्वको आधार बनाएको छ। यसलाई अन्धविश्वास र मूर्तिपूजाको बन्धनबाट मुक्त गरेको छ।

इस्लामले सही ज्ञान विज्ञानलाई ठूलो मान्यता दिएको छ, पूर्वाग्रहरहित निष्पक्ष वैज्ञानिक अनुसन्धान गर्न प्रोत्साहित गर्दछ, आफु भित्र र यस ब्रह्माण्डमा चिन्तन र मनन् गर्न आह्वान गर्दछ। सही वैज्ञानिक निष्कर्षहरू र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको शरियामा कुनै विरोधाभाष छैन।

शरियामा जात वा लिङ्गको आधारमा कुनै भेदभाव छैन। न त एउटा मानिसमाथि अर्को मानिसको कुनै प्राथमिकता छ। शरियाका नियमहरू सबैका लागि समान छन्। किनकि सबै मानिसहरू आफ्नो उत्पत्तिमा समान छन्, कुनै पनि लिङ्ग अर्कोभन्दा श्रेष्ठ छैन, न त कुनै मानिस अर्कोभन्दा श्रेष्ठ छ, धार्मिकता (तक्वा) बाहेक। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : प्रत्येक बच्चा प्राकृतिक स्वभाव (फितरत) मा जन्मिन्छ। कुनै मानिस पापी वा अरुको पापको जिम्मेवार भएर जन्मँदैन।

अल्लाहले इस्लामी शरियतमा तौबा (पश्चात्ताप) को व्यवस्था गर्नुभएको छ, जुन हो: एक व्यक्ति आफ्नो प्रभुतिर फर्कनु र पाप त्याग्नु। इस्लामले आफूभन्दा पहिलेका पापहरू मेटाउँछ र पश्चात्तापले आफूभन्दा पहिलेका पापहरू मेटाउँछ, त्यसैले अरू मानिसको अगाडी आफ्नो पाप स्वीकार गर्नु आवश्यक छैन।किनभने इस्लाममा, मानिस र ईश्वर बीचको सम्बन्धमा कुनै मध्यस्थताको आवश्यकता छैन। इस्लामले मानिसलाई ईश्वरको रूपमा उभ्याउने वा तिनीहरूलाई अल्लाहको ईश्वरत्व र प्रभुत्व मा सहभागी ठहराउने कार्यलाई निषेध गरेको छ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको शरियाले पहिलेका सबै शरियाहरूलाई रद्द गरेको छ। किनभने मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको शरिया अन्तिम विधान हो र यो सम्पूर्ण जातवर्गहरूको लागि हो। तसर्थ, अघिल्ला कानूनहरूले एकअर्कालाई खारेज गरेझैं यसले पनि अघिका सम्पूर्ण कानुन र विधिविधानहरू खारेज गरेको छ। अल्लाहले इस्लाम बाहेक अरू कुनै कानून र इस्लाम बाहेक अन्य कुनै धर्मलाई स्वीकार गर्नुहुन्न। यस शरियाका नियमहरूको विवरण जान्न चाहने जो कोहीले इस्लामको व्याख्या गर्ने भरपर्दो पुस्तकहरूबाट जानकारी प्राप्त गर्न सक्छ।

इस्लामी विधानको उद्देश्य पनि सबै ईश्वरीय विधानहरूको उद्देश्य जस्तै हो; सत्य धर्मद्वारा मानिसलाई उच्च स्थानमा पुर्‍याउनु, ताकि ऊ संसारका प्रभु, ईश्वरको शुद्ध सेवक बनोस् र उसलाई मानिसको दासत्व, भौतिक चीजहरू वा अन्धविश्वासबाट मुक्त गर्न सकोस्।

इस्लामको शरिया हरेक समय र स्थानका लागि उपयुक्त छ। यसमा मानवजातिका वास्तविक हितको विरोधाभास गर्ने कुनै पनि कुरा छैन, किनभने यो सर्वशक्तिमान अल्लाहद्वारा अवतरित गरिएको विधान हो, जसले मानिसहरूको आवश्यकता र कल्याणलाई पूर्णरूपमा जान्नुहुन्छ। मानिसहरूलाई यस्तो शरियाको आवश्यकता छ, जसमा कुनै आन्तरिक विरोधाभास नहोस् र जुन सम्पूर्ण मानवताको हितमा होस्। यो विधान कुनै मानिसद्वारा निर्माण गरिएको नभई अल्लाहको आदेशद्वारा प्रदान गरिएको मार्गदर्शन हो, जसले मानिसहरूलाई सत्कर्म र सच्चाइको मार्गमा डोर्‍याउँछ। यदि उनीहरूले यसलाई आफ्नो निर्णयको आधार बनाए भने तिनीहरूको जीवनका सबै पक्षहरू सही दिशामा अघि बढ्नेछन् र तिनीहरू अन्यायबाट सुरक्षित रहनेछन्।

७) उहाँप्रति उहाँका विरोधीहरूको धारणा र गवाही

प्रत्येक सन्देष्टाका विरोधीहरू हुन्छन् जसले उनको विरोध गर्छन्, उनीहरूको आह्वानमा बाधा उत्पन्न गर्छन् र मानिसहरूलाई उनीहरूमा विश्वास गर्नबाट रोक्छन् भन्ने कुरामा कुनै शंका छैन। सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जीवनकालमा र मृत्युपछि पनि धेरै विरोधीहरू थिए, तर अल्लाहले उहाँलाई ती सबैमाथि विजय प्रदान गर्नुभयो। विगत र वर्तमानका धेरै मानिसहरूले उहाँको सत्यता स्वीकार गरेका छन्, उहाँ अल्लाहको सन्देशवादक हुनुहुन्छ र उहाँले पनि त्यही कुराको आह्वान गर्नुभयो जसको आह्वान उहाँ भन्दा पहिलेका "नबी" हरूले गरे भन्ने तथ्यलाई गवाही दिएका छन्, तर पदको मोह, समाजको डर वा आफ्नो पदबाट कमाएको पैसा गुमाउनु जस्ता धेरै अवरोधहरूले उहाँमा विश्वास गर्नबाट रोकेको छ।

सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि हुन्, जो सम्पूर्ण जगतका पालनकर्ता हुनुहुन्छ।

 

***

विषयसूची

 

वैज्ञानिक समिति 2

१) उहाँको नाम, वंश र उहाँ जन्मिनु र हुर्किनुभएको शहर 2

२) शुभ विवाह एक पवित्र स्त्रीसँग 3

३) वह्य (प्रकाशना) को आरम्भ 4

४- उहाँको सन्देश 12

५) उहाँको दूतत्वका निशानी र प्रमाणहरू 15

६) मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा ल्याइएको शरिया 19

७) उहाँप्रति उहाँका विरोधीहरूको धारणा र गवाही 22

***

 

ne449v1.0 - 22/04/2026


सही बुखारी (४४६१) ६/१५।

जस्तै अल्लाहको भनाइ : हे मानव हो ! एउटा उदाहरण प्रस्तुत गरिएको छ, त्यसैले यसलाई ध्यानपूर्वक सुन। वास्तवमा, अल्लाह बाहेक तिमीहरूले जसलाई पुकार्छौ, तिनीहरूले एउटा झिङ्गा पनि सृष्टि गर्न सक्दैनन्, चाहे तिनीहरू त्यसको लागि एकजुट भए पनि। यदि कुनै झिङ्गाले तिनीहरूबाट कुनै (सानो) चीज खोसेर लैजान्छ भने, तिनीहरूले त्यसलाई फिर्ता लिन सक्दैनन्। सहायता माग्ने व्यक्ति र जोसित सहायता मागिएको छ; दुवै कमजोर छन्।" [सूरत अल-हज्ज: ७३]

सही मुस्लिम (९०१)